काठमाडौं । जनकपुरधाममा छठको रौनकले छाइरहेको छ । छठ घाटहरू गङ्गा सागर, धनुषा सागर, अङ्गराजसर, दशरथ तलाउ, अग्नि कुण्डसहितका पोखरीहरू सिँगारिएर चिटिक्क बनाइएका छन् । आइतबार छठ पूजाको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन छठ घाटमा ब्रतालुहरु पुगी सकेका छन् । चारदिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वकोन आज तेस्रो दिज साँझ तराई मधेशको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ्ग, सर्लाही, रौतहट, बारा, पर्सा र भारतको दरभंगा, मधुबनी, सीतामढी लगायत मिथिलाञ्चलभरिको जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ अर्पन गर्दै धुमधामका साथ छठ पर्व मनाइदै छ ।
तराई मधेसको महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिवासलगायत अन्य शहरी एवं ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाऊ तथा जिल्लाको प्रसिद्ध नदीहरु बिग्ही, रातो मरहा, जङ्गहा, अंकुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक छठ पर्व मनाइँदै छ । सत्य अहिंसाप्रति मानवको रुची बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत विद्यापिठका प्राध्यापक धु्रव रायले बताए ।
सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पूजारी उपेन्द्र पाठकका अनुसार पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठ पर्व मनाइने गर्दछ भने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।
व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई ठेकुवा, भुसवा, नरिवल, केरा, अदुवा, फलफूलसहितका विभिन्न परिकारहरूको अर्घ अर्पण गर्ने परम्परा छ ।
स्थानीय युवा क्लब र संघसंस्थाहरुको सक्रियतामा पछिल्लो एक सातादेखिको तयारीपछि घाटहरू सुन्दर एवं आकर्षक बनाइएका छन् । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोकांक्षा पुरा हुने जनविश्वास छ । परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वासका साथ विभिन्न विधिपूर्वक छटपर्व मनाउने परम्परा चलि आएको छ ।
पछिल्लो समय युवापुस्ताहरुले पनि छट पर्व जोगाउनु आवश्यक रहेको ठान्दै पूजाआजामा उपस्थिति जनाइरहेका छन् ।