देश

वसन्तपुर : सर्वसाधारणदेखी राष्ट्रपतिसम्मले गरे इन्द्रजात्राकाे अवलाेकन

काठमाडौं । आज इन्द्र जात्राको प्रमुख दिन हनुमानढोका दरबार क्षेत्रमा राष्ट्रपति ,प्रधानमन्त्रीलगायत विशिष्टदेखि सर्वसाधारणले इन्द्रजात्राको अवलोकन गरेका छन् । जीवित देवी कुमारी, भैरव र गणेशको रथ तान्ने पहिलो दिन देशका प्रमुखहरुको पनि उपस्थिति रहने परम्पराअनुसार विशिष्ट व्यक्तिहरु हनुमानढोका क्षेत्र पुगेका हुन् ।

आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने परम्परा रहेको छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *