भदौ ११ गते सोमबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । सोमबार तयार पारिएको मुख्य १० समाचारमा यती, ओम्नी र गिरीबन्धु टी–इस्टेट प्रकरण छानबिन गर्न ओलीले दिए चेतावनीदेखी एउटै व्यक्तिको पित्तथैली र मूत्रनलीमा ५५ वटा पत्थरीेसम्मका समाचारलाई समेटिएको छ ।
हेर्नुहोस सोमबारका मुख्य १० समाचार
यती, ओम्नी र गिरीबन्धु टी–इस्टेट प्रकरण छानबिन गर्न ओलीले दिए चेतावनी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यती, ओम्नी र गिरीबन्धु टी–इस्टेटलगायत प्रकरणमा छानबिन गर्न चेतावनी दिएका छन् । सोमबार राजधानीमा आयोजित जनप्रतिनिधिसँग केपी ओली कार्यक्रममा बोल्दै ओलीले यती, ओम्नी र गिरीबन्धु टी–इस्टेटलगायत प्रकरणमा छानबिन गर्न सरकारलाई चेतावनी दिएका हुन् ।
ओलीले भने– ‘छानबिन गर भनिराखेका छौं त । के यती होल्डिङस, यती होल्डिङस भनेर कराइरहेको, वाइडबडी, गर न त छानबिन अनि जाऊ आफैं जेलमा । वाइडबडीको छानबिन गर, जेल जाऊ । अस्तिसम्म ललितानिवास ललिता निवास भन्दै थिए । अहिले भागा भाग छ । कोही यताबाट कोही उताको ढोकाबाट भागाभाग छ ।’
ओलीले अहिले चिया बगानको विषय उठाएको भन्दै हामीले बनाएको कानुनले छानबिन गर्न आग्रह गरे । उनले भने– ‘अहिले चिया बगान निस्केको छ । गर न छानबिन, विना कानुन ०५३ सालमा १९ विघा जमिन बेच्न दिइएको थियो कमिसन खाएर, त्यसको छानबिन गर । ०६० कि कति सालमा बिना कानुन ५१ बिघा जमिन बेच्न दिइएको थियो, कमिसन खाएर । छानबिन गर जेल जाऊ । हामीले कानुन बनाइदिएका हौं । अब उपरान्त कानुनसम्मत गर भनेर भनेका छौं । बनाइदिएका छौँ ।’
भ्रष्टाचारका प्रकरण ‘सत्ता बार्गेनिङको टुल’ बन्ने देखियो, छानबिन गर्न सहकार्य गरौँ– गगन थापा
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारको जालो तोड्न सबै दलका नेताहरुलाई सहकार्यको प्रस्ताव गरेका छन् ।सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले ठुला नेताहरुले भ्रष्टाचारका प्रकरणहरुलाई ‘सत्ता बार्गेनिङको टुल’ बनाउने सम्भावना देखिएको भन्दै भ्रष्टाचारका प्रकरणको छानबिन गर्न सहकार्यको आव्हान गरेका हुन् ।
उनले ठुला नेताहरु घटना सामसुम पार्न मिल्छन भने यी घटनाको छानबिन गर्न हामी किन नमिल्ने भन्दै समान धारणा भएका दल भित्र र बाहिरका सबै एक ठाउमा आउन आग्रह गरेका छन् ।
दश वटै समितिका सभापतिहरुले लिए सपथ
प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सोमबार निर्वाचित सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।१० वटै समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । नेपाली कांग्रेसका सन्तोष चालिसेले अर्थ समितिको सभापतिमा, समाजवादीका राजकिशोर यादव अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा निर्वाचित भएका छन् ।यस्तै नेकपा (माओवादी केन्द्र) की विमला सुवेदी कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा,कांग्रेसका आरजु राणा देउवा,कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा निर्वाचित भएका छन् ।
एमसीसीको व्याख्यात्मक टिप्पणीबारे प्रश्न उठिरहेको छः माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी आर्थक सहयोग परियोजना (एमसीसी) को व्याख्यात्मक टिप्पणीमा प्रश्न उठेको बताएका छन् । सोमवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले एमसीसीको व्याख्यात्मक टिप्पणीबारेमा प्रश्न उठेकाले त्यसबारेमा समितिमा छलफल हुन आवश्यक रहेको बताएका हुन् । उनले राष्ट्रियतासँग जोडिएका जल्दाबल्दा समस्याहरू देखिएको भन्दै त्यसतर्फ पनि गम्भीर हुन आग्रह गरे । उनले सिमानासँग जोडिएका विषयवस्तुहरू चुनौतीको रूपमा आइरहेको भन्दै छलफल र संवादबाट टुङ्ग्याउनुपर्ने बताए ।
उनले भने, ‘राष्ट्रियतासँग जोडिएका जल्दाबल्दा समस्याहरू आइसकेका छन् । केही जल्दाबल्दा विषयहरू छन् । एमसीसीका कुरा पनि उठेका छन्, व्याख्यात्मक टिप्पणीको कार्यान्वयन भइरहेको छ की छैन ? भन्नेबारेमा पनि कुरा उठिसकेको छ । हाम्रो सिमानासँग जोडिएका विषयवस्तुहरू पनि आएका छन् । सिमानासँग जोडिएको विषयवस्तु भित्र संवेदनशील कुराहरू छन् । संयुक्त राष्ट्रको बडापत्रदेखि लिएर असंलग्न परराष्ट्र नीतिका सबै कुरालाई ध्यानमा राख्नुपर्छ ।’
आत्महत्या गर्छु भन्ने अग्नि सापकोटाले एमसीसी टेबुल गरे ः धर्मेन्द्र बास्तोला
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले एमसीसी पारित गर्न परे आत्महत्या गर्छु भन्नेहरू नै सम्झौताको पक्षमा उभिएको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा आयोजित एमसीसी कार्यान्वयनविरुद्धको बृहत अन्तरक्रिया कार्यक्रममा प्रवक्ता बास्तोलाले एमसीसीमा हस्ताक्षर गर्नु प¥यो भने आत्महत्या गर्छु भन्ने स्वयमले हस्ताक्षर गरेको आरोप लगाए । अग्नि सापकोटा हुनुहुन्थ्यो सभामुख, र उहाँले के भन्नु भएको थियो भने यो एमसीसीमा हस्ताक्षर गर्नु प¥यो भने अर्थात टेबुल गर्नु प¥यो भने म आत्महत्या गर्छु बरु टेबुल गर्दिनँ भन्नु भएको थियो,’ उनले थपे, ‘तर, त्यही अग्नि सापकोटा हो, उहाँले नै त्यो काम गर्नु भयो ।’
राष्ट्रपतिद्वारा तीन देशमा राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशमा राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूतमा सुधीर भट्टराई नियुक्त भएका हुन् ।
उनका अनुसार राष्ट्रपति पौडेलले भट्टराईसहित तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि र घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत नियुक्त गरेका हुुन् ।
कानुनले कसैलाई छुट दिँदैन– विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणमा संलग्न रहेका व्यक्तिलाई कानुनी दायरामा ल्याउने बताएका छन् । पाल्पाको रामपुरमा आज नेपाल प्रेस युनियन पाल्पाले आयोजना गरेको पत्रकार भेटघाटमा महामन्त्री शर्माले सुनकाण्डमा जोकोही संलग्न रहे पनि कानुनी कठघरामा ल्याउनुपर्ने र त्यसको लागि कांग्रेसले दलको आडमा कसैलाई ढाकछोप गर्न लागेमा उम्कन नदिने बताए । सुनकाण्डका विषयमा अहिले सिआइवीले छानबिन गरिरहेको बताउँदै उहाँले जात, धर्म, ठूलो, साना व्यक्ति भनेर कसैलाई छुट नरहेको, छानबिनको क्रममा रहेकाले यस कार्यमा कोको संलग्न छन् एवं कसरी भित्रिरहेको छ यी सबै कुराको अध्ययन गरेर प्रतिवेदन बनाएर आवश्यक छानबिन गर्ने स्पष्ट पारे ।
कानुनविपरीत कार्य गर्नेलाई कुनै पनि राजनीतिक दलले शक्ति र सत्ताको आडमा ढाकछोप गर्न नहुने, दल आफैँले बनाएको कानुन पालना गरेर भ्रष्टाचार, बेथितिविरुद्ध सबै दल एक ठाउँमा उभिनुपर्ने उनको भनाइ छ । धरानमा भएको गौहत्या काण्ड गम्भीर रहेकाले धर्म निरपेक्षता रहेको देशमा कसैले पनि एकले अर्को जात, सम्प्रदायबीच खलल पुग्ने कार्य गर्न नहुने महामन्त्री शर्मा बताउछन् ।
महराका बाबु–छोरामाथि अनुसन्धान गर्न सीआइबीलाई निर्देशन
सरकारी वकिल कार्यालयले सुन तस्करी प्रकरणमा मुछिएका सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरामाथि छानबिन गरी पुरक प्रतिवेदन ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई निर्देशन दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्र्याउने चिनियाँ तस्करसँग सम्बन्ध पुष्टि हुँदा समेत सरकारले पूर्व सभामुख एंव माओवादी नेता महरा र उनका छोरा राहुललाई अनुसन्धानको दायरामा ल्याउन सकेको छैन । महरा बाबु–छोराको सम्पर्क विद्युतीय चुरोट ‘भेप’ मा लुकाएर सुन तस्करी गर्ने समूहसँग रहेको देखिएको छ । २०७९ पुस १० मा दुबईबाट ‘भेप’ मा लुकाएर सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग महरा र उनका छोराहरूको बाक्लो सम्पर्क भएको देखिएको छ ।
सीआइबीले महरा बाबुछोरामाथि यथेष्ठ प्रमाण जुटाएको छ । ब्यूरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर बयान समेत नगराएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको हो ।
काँग्रेसले भाद्र २४ गतेदेखि बीपी साहित्य महोत्सव आयोजना गर्ने
नेपाली कांग्रेसले ११०औँ बीपीजयन्तीका अवसरमा साहित्यिक महोत्सव आयोजना गर्दै छ । यही भदौ २४, २५ र २६ गते तीन दिनसम्म आयोजना गरिने महोत्सवमा नेपालको राजनीति र साहित्यमा बीपीको महत्त्वबारे जानकारी दिने कांग्रेसको तयारी छ ।महोत्सवमा मुख्य वक्ताले बीपीको राजनीतिक र साहित्यिक पाटोका बारेमा बोल्ने सोमबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
काठमाडौं । नेपाली कांग्रेसले ११०औँ बीपीजयन्तीका अवसरमा साहित्यिक महोत्सव आयोजना गर्दै छ । यही भदौ २४, २५ र २६ गते तीन दिनसम्म आयोजना गरिने महोत्सवमा नेपालको राजनीति र साहित्यमा बीपीको महत्त्वबारे जानकारी दिने कांग्रेसको तयारी छ ।
एउटै व्यक्तिको पित्तथैली र मूत्रनलीमा ५५ वटा पत्थरीे
यहाँका एक बिरामीको उपचारको क्रममा पित्तथैली र मूत्रनलीबाट शल्यक्रियामार्फत ५५ वटा पत्थरी निकालिएको छ । दक्षिण झापाको कचनकबल गाउँपालिका वडा नं. ६ की ५४ वर्षीया सुमित्रा साहको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचारको क्रममा ५५ वटा पत्थरी एकैपटकमा बाहिर निकालिएको हो ।
अस्पतालका निर्देशक बालकुमार पोखरेलका अनुसार पेटभित्र असह्य दुखाई बढेपछि उपचारका लागि साहलाई हस्पिटलमा भर्ना गरिएपछि भदौ ७ गते सर्जन डा शशी सिंहले सफलतापूर्वक शल्यक्रिया गरेकी थिईन।
“सहन नसक्ने गरी पेटभित्र दुखाइ भएको भन्दै उनलाई अस्पतालमा भर्ना गरिएको थियो”, निर्देशक पोखरेलले उपचारबारे जानकारी दिँदै भने, “मेडिकल सुपरिन्टेन्डेन्टसमेत रहेकी सर्जन डा शशी सिंहले उनको स्वास्थ्य परीक्षणपश्चात तुरुन्त शल्यक्रिया गरिएको थियो ।” सबै जाँच प्रक्रिया पूरा भएपछि शल्यक्रिया गर्दा पित्त थैली र मूत्रनलीबाट ५५ वटा पत्थरी निकालिएको उनको भनाइ छ ।
साहको शल्यक्रिया सम्पन्न गर्न आठ घण्टा लागेको थियो । शल्यक्रियापछि उनको स्वास्थ्यमा सुधार आइसकेको र छिटै घर फर्किने तयारीमा रहेको उनका छोरा दीपककुमार साहले बताए ।