काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रिय सभाको उम्मेदवार चयनलाई हेर्दा अर्थमन्त्री युवराज खतिवडाको मन्त्रीपद आगामी जेठ १५ गतेसम्म मात्रै देखिएको छ । वित्तिय क्षेत्रमा निकै असन्तुष्टि पैदा भैरहेका बेला नेकपाले उनलाई राष्ट्रिय सभाको उम्मेदवार बनाएको छैन । एक कार्यकाल राष्ट्रिय सभा र अर्थमन्त्री भएका खतिवडाले आगामी बजेट भने ल्याउन पाउनेछन् ।
संसद सदस्य नभएपनि छ महिनासम्म मन्त्री पदमा रहन पाउने संवैधानिक प्राब्धान अनुसार उनी आगामी जेठ १५ को बजेटपछि बिदा हुनेछन् । वित्तीय क्षेत्र अस्तव्यस्त भएको भन्दै नेकपाकै सांसदहरुले अर्थमन्त्री खतिवडाको विरोध गरेका थिए । उनी अर्थमन्त्री भएपछि शेयर बजार ओरालो लागेको थियो । अहिलेसम्म शेयर बजार सुध्रन सकेको छैन ।
त्यस्तै तत्कालिन एमाले सरकार रहेका बेला राष्ट्रबैकको गर्भनर, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष जस्ता महत्वपूर्ण निकायमा बस्ने अवसर पाएका खतिवडालाई ओली सरकारले मन्त्री बनाउनुका साथै राष्ट्रिय सभा सदस्य समेत बनाएको थियो । उनलाई मात्रै पटक पकट मौका दिइएको भन्दै उनको तत्कालिन एमालेभित्र विरोध भएको थियो । अर्थमन्त्री बनेपछि आफ्नो क्षेत्रमा मात्रै बजेट लगेको भन्दै संसदमा जनार्दन शर्मा लागयतका नेताहरुले उनको राजिनामा समेत मागेका थिए ।