काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियू भित्र पुनः विवाद बल्झिएको छ ।तत्कलिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको झण्डै दुई वर्षपछि अनेरास्ववियूको केन्द्रीय कमिटीको एकता टुंगो लागे पनि विवाद भने टुंगिन सकेन । अनेरास्ववियूको केन्द्रीय कमिटीको एकता टुंगो लागेसँगै निवर्तमान कमिटीमा रहेका दुवैतर्फका नेताहरुले असन्तुष्टि देखाएका हुन् ।
अनेरास्वबियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले एकता टुंगो लगाउँदै केन्द्रीय समितिका नाम सार्वजनिक गरेपछि अनेरास्वबियूकी निवर्तमान अध्यक्ष नविना लामाले आपत्ति जनाएकी हुन् । महरले गरेको निर्णय गलत भएको प्रतिक्रिया दिंदै लामाले संगठनमा कसैको दादागिरी नचल्ने चेतावनी दिएकी छन् । तत्कालिन अखिलमा लामा अध्यक्ष र महर महासचिव थिए । ‘निरन्तर संगठन, पार्टी, आन्दोलनमा लागेको इमान्दार साथीहरूमाथि अन्याय भएकै छ ।
जस्तै यूनिभर्सिटी, भूगोल, महिला, जनजाति, दलित, अन्य प्रवास र केही साथीहरुको विषयमा पुर्वाग्रह राखेको छ । यो विषय कुनै छलफलविना लिडरसिपले गलत गरेको छ । यो मेरो कार्यकालमा भएको र जोडेको विषय हो । संगठन कसैको पेवा होइन, संगठनमा कसैको दादागिरी चल्दैन,’ लामाले भनेकी छिन् । लामाले पुनः छलफल गरेर जिम्मेवारी फेरबदल गर्नका लागि नेतृत्वको गम्भीर ध्यानाकर्षण गराउने पनि जनाएकी छन् ।