काठमाडौं । अाजका पत्रपत्रिकामा नेकपाभित्रै प्रदेश ३ को राजधानी र नामबारे चर्को विवाद रहेको समाचारले स्थान पाएका छन् ।
अन्नपूर्ण पोष्ट् दैनिकले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश नम्बर ३ को राजधानी जसरी पनि हेटौंडा कायम राख्न पार्टी नेताहरुलाई निर्देशन दिएको समाचारलाई शीर्ष समाचार बनाएको छ । समाचारमा लेखिएअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साढे १० देखि साढे २ बजेसम्म प्रदेशका पदाधिकारी, दलका पदाधिकारी र मन्त्रीका कुरा सुनेर अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलले प्रदेशको नाम बागमती र राजधानी हेटौंडा जसरी पनि राख्न निर्देशन दिनुभएको हो ।
कान्तिपुर दैनिकमा ‘सेरेमोनियल बन्दै संसद्’ शीर्षकको मुख्य समाचार छ । समाचारमा लेखिएको छ, ‘संसदको मुख्य काम हो कानुन बनाउनु र सरकारले पेस गरेका विधेयकको गुण(दोष केलाएर असल नीति पारित गर्नु । तर, सांसदहरुको आफ्नो यही मुख्य जिम्मेवारीमा खासै सहभागी हुँदैनन्, जसका कारण सरकारले जस्तो चाह्यो त्यसै विधेयक पारित हुने जोखिम बढ्दै गएको छ ।’
नेपाल ट्रष्टको ताहाचलको जग्गा यती समूहलाई कौडीको भाउमा दिएपछि सरकारले त्यसलाई लुकाउने प्रयास गरेको र कर्णाली प्रदेश सरकारले क्रसरसम्बन्धी कार्यविधि व्यवसायीको हितमा संशोधन गरेको समाचारनागरिक दैनिकमा छ ।
कारोबार दैनिकले भ्रमण वर्षअघि नै पर्यटक घटेको र नेपाल समाचारपत्रले एमसीसी जवाफदेही र पारर्शी रहेको भनेर अमेरिकाले भनेको समाचार छापेको छ ।