आज पत्रपत्रिकामा फरक फरक विषयबस्तु समेटिएका छन् । केहीमा इराकबाट नेपाली कामदार फर्किएका खबर छन् भने केहिमा राजनितिक सन्दर्भले स्थान पाएका छन् ।
तनहुँ हाइडेमा एडीबीले हस्तक्षेप गरेको खबर अन्नपूर्ण पोस्ट्ले मुख्य बनाएको छ । खबर अनुसार, निर्माण सुरु भएको जलाशययुक्त उक्त हाइड्राेकाे पुनः ठेक्का प्रक्रियामा एडीबीले हस्तक्षेप गरी रद्द गरिदिएको छ । अघिल्लो वर्ष निर्माण सुरु भएको आयोजनाको पहिलो प्याकेजको ठेक्का रद्द भएपछि लागत र निर्माण सम्पन्न हुने तालिका प्रभावित भएको छ ।
नेपाल समाचार पत्रमा युद्धको सम्भावना बढेपछि इराकमा कार्यरत ३० नेपाली फकिँदै गरेको समाचारलाई मुख्य बनाएको छ । इरान–अमेरिकाबीच युद्धको सम्भावना बढेपछि इराकमा कार्यरत ३० नेपाली स्वदेश फर्कने भएका छन् ।
नागरिक दैनिकमा काठमाडौंमा प्रदुषण बढेको समाचार छ भने ललिता निवास जग्गा प्रकरणमा मन्त्रालयले छानबीनमा असहयोग गरेको खबर छ । यसबारे अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णयको फाइल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग मागेको थियो । तर, यो फाइल नदिएर मन्त्रालयका उच्च अधिकारीले असहयोग गरेको नागरिकले लेखेको छ ।
कान्तिपुरले सत्तारुढ दलका नेता र सरकारका उच्च अधिकारीको प्रतिबद्धता निजी क्षेत्रको मनोबल टुट्न दिन्नौैं शिर्षकमा नेपालमा लगानी गर्ने स्वदेशी तथा विदेशी लगानाी कर्ताको मनोबल उच्च बनाउन प्रतिबद्धता व्यक्त गरेको खबरलाई मुख्य बनाइएको छ ।
कान्तिपुरकाे भित्रि पृष्ठमा सभामुखबारे झनै उल्झन, ओलीले अडान नछाेडेपछि बैग्लै माेर्चाबन्दी शिर्षकमा समाचार छ । नयाँ सभामुख चयनका विषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूववत् अडान नछाडेपछि नेकपाका अन्य शीर्ष नेताहरुको उनीविरुद्धको मोर्चाबन्दी सतहमा आएको छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा ओलीको अडानविरुद्धको छलफल र परामर्श तीव्र भएका छन् ।
कारोबार दैनिकले पहिलो पृष्ठको पुच्छारमा हाइलाइट गरेर कस्तूरी पाल्नुस्, बिना बेच्नुस् १ शिर्षकमा समाचार लेखेको छ । गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले कस्तूरी पाल्न चाहनेहरुका लागि अब आफ्नै क्षेत्र भित्र पाल्न दिने योजना अघि सारेको छ । कारोबार दैनिकले अमेरिका इरान द्धन्द्धको सन्त्रासमा नेपाली अर्थतन्त्र पनि परेको खबरलाई भने मुख्य प्राथमिकता दिएको छ ।