ताजा समाचार

नक्कली सर्टिफिकेट काण्डमा एसपीको जागिर चट !

काठमाडौ । बढुवामा नक्कली सर्टिफिकेट पेश गरेको आरोप लागेपछि एक जना एसपीले जागिर छाडेका छन् । शैक्षिक योग्यताको प्रमाणपत्रमाथि छानबिन सुरु भएपछि नेपाल प्रहरीको ब्यान्ड गुल्म केन्द्रीय संगीत विद्यालयका प्रमुख एसपी राजेन्द्र गुरुङले राजीनामा दिएर जागिर छाडेका हुन । स्रोतका अनुसार एसपी गुरुङले प्रवीणता प्रमाणपत्र तहको प्रमाणपत्र पेस गरी सइबाट नेपाल प्रहरीको संगीत विद्यालयमा सेवा सुरु गरेका थिए ।

नेपालकै एक निजी संगीत कला केन्द्रमा केही समय संगीत सिकेका गुरुङले सोही संस्थाको प्रमाणपत्रलाई आइएसरह भन्दै जागिर प्रवेश गर्दा बुझाएका थिए । सो प्रमाणपत्र त्रिभुवन विश्वविद्यालयबाट ‘इक्विभ्यालेन्ट’ भएको भन्दै उनले प्रहरी प्रधान कार्यालयमा पेस गरेका थिए । प्रहरीमा सेवा सुरु गर्दा उनको उमेर ३५ वर्ष थियो । सोही प्रमाणपत्रका आधारमा उनी इन्स्पेक्टर, डिएसपी हुँदै एसपीसम्म भए । अहिले उनी विद्यालयको एसएसपी पदमा एक्ला प्रतिस्पर्धी थिए ।

नेपाल प्रहरीले उनैका लागि विद्यालयमा एसएसपी पदको नयाँ दरबन्दी थप गर्ने निर्णय गरेको थियो । गुरुङको शैक्षिक योग्यताको प्रमाणपत्रविरुद्ध उजुरी परेपछि प्रहरीले आन्तरिक रूपमा छानबिन गरेको थियो । छानबिनका क्रममा नेपाल प्रहरीले उनले बुझाएको प्रमाणपत्र ‘इक्विभ्यालेन्ट’ भएरनभएकोबारे त्रिभुवन विश्वविद्यालयलाई पत्र लेखेको थियो । त्रिविले प्रमाणपत्र विश्वविद्यालयबाट ‘इक्विभ्यालेन्ट’ नभएको पत्र पठाएपछि उनले राजिनामा दिएका हुन । शैक्षिक प्रमाणपत्रमाथि अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि गृह मन्त्रालयमा समेत उजुरी परेको थियो । दबाबमा रहेका उनले सोही कारण पदबाट राजीनामा दिएको प्रहरी स्रोतको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *