ताजा समाचार

पहिला दानबहादुरले छाडेनन, अहिले पन्त गइनन चितवन प्रहरी प्रमुखमा को ?

काठमाडौं । चितवन प्रहरी प्रमुखमा कसलाई पठाउने भन्ने बारेमा अझै टुगो लागेको छैन । पुस ४ गते सरुवा भएकी एसपी गंगा पन्तको रमाना रोकेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखामा कार्यरत एसपी कृष्ण पंगेनीलाई लैजाने तयारी अघि बढेपनि प्रहरी प्रधानकार्यालयले अझै कसैलाई पठाउन सकेको छैन । २४ जना एसपीको सरुवा गर्दा पन्त चितवन सरुवा भएकी थिइन।

‘नियमित प्रहरीको सरुवाका क्रममा पन्तलाई चितवन सरुवा गरिएको थियो, उनी विवादमा तानिएको र कार्यभार सम्हाल्न सक्ने अवस्था नदेखिएपछि रमाना नदिइएको हो,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो । पन्तले दुई वर्षअघि सामाजिक सञ्जालमा पुष्पकमल दाहाल प्रचण्डको नाम जोडेर ‘रिप’ लेखेकी थिइन। त्यसलगत्तै उनी विवादमा तानिएकी थिइन। यसबारे प्रहरी प्रधान कार्यालयले छानबिन गरे पनि पन्तले साथीको बुवाको निधन भएको र एकजना भाइले लेखेको कुरामा भुलबस पुष्पकमल दाहालको नाम जोडिएको बताउँदै आएकी छन्। उनले संगठनभित्र आफूले गरेको गल्ती स्वीकार गरेकी छन्।

चितवनका प्रहरी प्रमुख दानबहादुर प्रमुख मल्ललाई १५ दिनअघि प्रहरी प्रधान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरेको थियो। चितवनमा सात महिना कार्यभार सम्हालेका दानबहादुर दाहालका पूर्वसुरक्षा गार्ड हुन्। सरुवा भए पनि चितवन छाड्न नमानेपछि ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले कार्यालयको सम्पूर्ण चार्ज बुझाएर सरुवा भएको ठाउँमा हाजिर हुन निर्देशन दिएको थियो। त्यसयता मल्ल सरुवा गरिएको कार्यालयमा हाजिर भएका छैनन्। उनी घरायसी कारण देखाएर १० दिन विदामा छन्। सरुवा भएका मल्लले आफूलाई महिला सेलमा कार्यरत प्रहरी कर्मचारीले अप्ठेरो पारेको बताएको बताउँदै आएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *