ताजा समाचार

‘स्थानीय तहमा अचाक्ली कर’- जग्गाको कर तिर्न जग्गै बेच्नु पर्ने स्थिति

आजका पत्रपत्रिकामा फरक फरक विषयमा समाचार समेटिएका छन् । सबैमा राष्ट्रिय सभाको चुनाव, थुन्ने आदेश आएपछि सिद्धबाबा फरार भएको, बिहेको ४ दिन अघि दुर्घटनामा केटीको निधन भएको लगाएतका समाचारले स्थान पाएका छन् ।

अन्नपूर्ण पोस्ट्मा ‘थुन्न नभन्दै फुत्किए सिद्धबाबा’ शीर्षकमा मुख्यसमाचार छ । सुनसरी जिल्ला अदालतले धरौटीमा छाडेपछि सिद्धबाबा भनिने कृष्णबहादुर गिरी अस्पतालबाट आश्रम फर्किएका थिए । उच्च अदालतले बिहीबार त्यसलाई बदर गरी थुन्न आदेश दिन नपाउँदै उनी रहस्यमय ढङ्गले फुत्किएका छन् । उनी बिहान केही समर्थकका साथ सुनसरीको चतारास्थित आफ्नो आश्रमबाट उच्च अदालत जाने भनेर हिँडे । मुद्दाको सुनवाइ जारी रहेकै बेला अदालत नगइ सीधै जोगवनीतर्फ हानिए । अनौठो कुरा त – यौन दुराचारमा मुद्दा विचाराधीन रहेका उनका लागि सरकारले अङ्गरक्षक खटाएको छ । त्यस्तै राष्ट्रियसभामा नाम मात्रैको प्रतिपक्ष शीर्षकमा समाचार छ । बिहीबार १८ सिटका लागि भएको निर्वाचनमा कांग्रेसले एक सिट पनि जित्न सकेन । १६ मा नेकपा र २ मा राजपाले जित निकालेका छन् ।

‘स्थानीय तहमा अचाक्ली कर’ शीर्षक दिएर कान्तिपुरले स्थानीय तहको करबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार स्थानीय तहले कमाइभन्दा पनि कर बढी लिन थालेका छन् । ताप्लेजुङ र जुम्लाको उदाहरण दिँदै कान्तिपुरले जग्गाको कर तिर्न जग्गै बेच्नु पर्ने स्थिति भएको लेखेको छ ।

त्यस्तै निम्ताे बाडिन् बिहे हुन पाएन शिर्षकमा माघ १३ गते हुने आफ्नै बिहेको कार्ड बाँड्न हिँडेकी युवतीको टिपरको ठक्करबाट घटनास्थलमै मृत्यु भएकोबारे कान्तिपुरले मर्मस्पर्शी रूपमा समाचार बनाएको छ ।  पाँच दिनपछि उनको विवाह हुँदै थियो । घरमा सामान जुटाउने र निम्ता बाँड्ने चटारो थियो । आफ्नो बिहेको निम्तो साथीहरुलाई दिन रमिता भट्ट कञ्चनपुर महेन्द्रनगरको जनज्योति टोल गएकी थिइन् । रमिताले साथीहरुलाई निम्तो त बाँडिन्, तर बिहे हुन पाएन । निम्तो बाँडेर महेन्द्रनगर बजारतर्फ फर्किरहेकी उनको बिहीबार साँझ ट्रिपरको ठक्करबाट मृत्यु भयो ।

नेपाल कोरोना भाइरसको उच्च जोखिममा परे पनि सरकारले पूर्वतयारी नगरेको भन्दै नागरिकले चिन्ता व्यक्त गरेको छ भने कारोबारमा सेनामा सुधारसँगै नेपालको भ्रष्टाचार सूचकांकमा सुधार भएको खबर छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *