कला/साहित्य

पानी रङको सहरमा कलामा लोभिँदै युवा

काठमाडौं । धेरै पानी पर्ने भएकाले पोखरालाई नेपालको चेरापुुन्जीको उपमा दिइन्छ । क्षणभरमा नै पानी पर्ने, घाम लाग्ने, घनघोर पानी क्षणभरमा नै सुक्ने आदि विविधता पोखराको विशिष्टता हो । यही पोखरालाई कलाका क्षेत्रमा पानी रङको सहरका रुपमा पनि चिनिन्छ । कलाका क्षेत्रमा प्रयोग हुने ऐतिहासिक रङका रुपमा पानी रङ स्थापित छ । कलाको इतिहासमा सबैभन्दा बढी प्रयोग भएको रङ (वाटर कलर) मा विगतमा पोखरामा धेरै कला सिर्जना भएकै कारण पानी रङको सहरका रुपमा पोखरा चिनिएको हो ।

पानी रङको प्रयोग गरी कला सिर्जना थालेका वरिष्ठ कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’ देखि बुद्धि गुरुङजस्ता व्यक्तित्वले पोखरालाई पानी रङको सहरका रुपमा परिचित गराउन विशिष्ट योगदान प¥याएका हुन् । त्यही पानी रङको सहर पोखराले कलाका क्षेत्रमा आफ्नै विशिष्ट मौलिकता सँगाल्दै अघि बढिरहेको छ । हजुुरबुबा पुस्तादेखि नाति पुस्तासम्मका व्यक्ति पोखरामा कला सिर्जनामा लागेका छन् ।

तनहुँको भीमाद जन्मस्थान भई पोखराको न्यू ग्यालेक्सी स्कुलबाट १२ कक्षा सकेर बसेका एमन गुरुङ यतिखेर कलासिक्दै छन। सानैदेखि आफूूलाई चित्र कोर्न मन लाग्ने गरेको बताउँने उनी अहिले पोखराको चिप्लेढुङ्गास्थित घामपानी मार्केटभित्र रहेको नगेन आर्ट एकेडेमीमा कला सिक्न लागेका हुन । कलाको एक वर्षे कोर्ष सिक्ने क्रममा छ महिना समय एकेडेमीमा विताइसकेको उल्लेख गँर्दै एमनले आफूले कलामा सम्भावना देखेको बताए। “कला सिर्जना मेरो रुचिको विषय हो”, उनले भने , “राम्रोसँग कला सिकेर यस क्षेत्रमा म केही गर्न चाहन्छुु ।”

कला सिर्जनामा आफूलाई परिवारको पनि साथ र सहयोग रहेको छ भन्दै एमनले अवसर पाएमा धेरै गर्न सकिने विश्वास रहेको जानकारी गराए । पोखराकै काजी पोखरीका आयुुष गुरुङ पनि १२ कक्षा उत्तीर्ण गरी कला सिक्न एकेडेमी पुगेका छन । कला सिर्जनाको आफ्नै विशिष्ट महत्व रहेको बताउँदै उनले यस क्षेत्रमा केही गरौँ भन्ने भावनाका साथ आफू तालिम लिन आएको बताए । “खासगरी म डिजाइनर हो, म डिजाइनमा आर्टको क्रियटीभिटी युज गर्न चाहन्छुु”, आयुषले भने , “मेरो कलाप्रतिको रुचिमा पारिवारको राम्रै साथ र सहयोग छ ।”

पछिल्लो समयमा कला क्षेत्रमा युवाको आकर्षण बढिरहेको नगेन आर्ट एकेडेमीका सञ्चालक ज्योति हमालले बताईन। कला क्षेत्रमा केही जान्ने र सिक्ने चाहना भएका व्यक्तिलाई लक्ष्य गरी एकेडेमी सञ्चालनमा ल्याइएको उल्लेख गर्दै उनले एकेडेमी सञ्चालनको एक वर्षे समयावधिमा विभिन्न ७७ युवाले कला सिकेर गएको जानकारी दिईन। एकेडेमीबाट एक हप्तादेखि तीन वर्षसम्मका विभिन्न कोर्षका पठनपाठन गराउने गरिएको छ । पछिल्ला वर्षमा कला सिक्न युवाहरूको आकर्षण बढिरहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ सदस्य नगेन सिंहले बताए। कला क्षेत्रको औपचारिक पठनपाठनका लागि त्रिभुवन विश्वविद्यालयअन्तर्गत ललितकला क्याम्पसमा स्नातकोत्तरसम्मको पढाइ हुने गरेको जानकारी दिँदै उनले काठमाडौँकै सिर्जना कलेज, काठमाडौँ विश्वविद्यालयलगायत शैक्षिक संस्थामा पनि नियमितरुपमा पठनपाठन भइरहेको छ भने ।

राष्ट्रिय चित्रकला प्रदर्शनी

कला क्षेत्रमा युवाको आकर्षण बढिरहेका अवस्थामा दिगो शान्ति, पर्यटन र कला क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यका साथ नगेन आर्ट एकेडेमीले पोखरामा एक महिने तेस्रो राष्ट्रिय चित्रकला प्रदर्शनी आयोजना गरेकोे छ । एकेडेमीकै प्रदर्शनी कक्षमा देशभरका एक सय ४० कलाकारका कला प्रदर्शनीमा राखिएको सञ्चालक ज्योति हमालले जानकारी दिईन। देशका विभिन्न स्थानमा रहेका वरिष्ठ कलाकारदेखि नवोदित युवा कलाकार ५७ जनाले एउटै ब्यानरमा तयार गरेको कला प्रदर्शनीको महत्वपूर्ण आकर्षण बनेको छ । एकेडेमीको प्रवेशद्वारमा राखिएको उक्त कलाको मूल्य रु डेढ करोड राखिएको छ ।

बीस मिटर लामो ब्यानरमा रहेको उक्त कला हालसम्म देशभरमा प्रदर्शनीमा राखिएमध्ये सबैभन्दा ठूलो भएको जिकिर गरिएको छ । प्रदर्शनीमा राखिएका कलाको मूल्य रु एक हजारदेखि डेढ करोडसम्म रहेको सञ्चालक हमालले जानकारी दिईन। “समाज एवं राष्ट्रमा अस्थिरता र अराजकता बढिरहेका अवस्थामा हामीले दिगो शान्ति, पर्यटन र कला क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यका साथ प्रदर्शनी राखेका हौँ”, उनले भनिन , “पछिल्ला समयमा कला प्रति बढ्दै गएको युवा आकर्षणलाई अझै बढाउनका लागि यस्ता प्रदर्शनीले विशेष महत्व राख्ने हाम्रो विश्वास छ ।”

कलामा रुचि राख्ने पुरानो पुस्तादेखि नयाँ पुस्ताका व्यक्ति, विद्यालयका शिक्षक तथा विद्यार्थी आदिका लागि प्रदर्शनी बहुुउपयोगी बन्ने विश्वास लिइएको सञ्चालक हमालले बताईन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *