एएफपी। अत्यधिक धेरै समय शासन गर्ने शासकमध्येमा पर्ने ओमनका सुल्तान कबुसको निधन भएको छ । उनको ७९ वर्षको उमेरमा शुक्रबार निधन भएको शाही उच्च अधिकारीले शनिबार जानकारी दिएका छन् ।
आधुनिक अरबी देशका शासकमध्ये उहाँ धेरै समय शासन गर्ने शासकमा पर्ने अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनले सन् १९७० देखि अहिलेसम्म झण्डै ५० वर्ष ओमनमा शासन गरेका थिए । उनले आफ्नै पितालाई अपदस्त गरेर शासन हात लिएका थिए ।
उनी केही समयदेखि क्यान्सरबाट पीडित भएकाले उपचार गराइरहेका थिए । क्यान्सरकै कारण अहिले उनको निधन भएको बताइएको छ । उनी अविवाहित भएकाले कुनै छोराछोरी नभएको र उत्तराधिकारी पनि कसैलाई नतोकेकाे अधिकारीले बताएका छन् ।
उनले कसैलाई नतोकेपछि पारिवारिक बैठकबाट उनकै नाता पार्ने हैथाम बिन तारिकलाई नयाँ शाही शासकका रुपमा छनौट गरिएको छ ।संस्कृति मन्त्रीसमेत रहेका ६५ वर्षीय हैथामलाई नियुक्त गर्ने निर्णय भएको सरकारी अधिकारीले शनिबार जनाएका छन् ।
“हैथाम बिन तारिकलाई देशको नयाँ सुल्तानका रुपमा सपथ ग्रहण गराइएको छ,” सरकारी अधिकारीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । ओमनको संविधानमा एक जना शासकको निधनभएपछि तीन दिनभित्रमा नयाँ शासक चयन गरिसक्नु पर्ने व्यवस्था रहेको जनाइएको छ ।
अधिकांश विश्लेषकले कबुसका अर्का नातेर असद बिन तारिकलाई नयाँ सुल्तानका रुपमा हेरेका थिए । सन् २०१९ मा उहाँलाई उपप्रधानमन्त्री तथा अन्तरराष्ट्रिय सम्वन्ध र सहकार्य मामिला मन्त्रीमा नियुक्त गरिएकाले त्यतिबेलादेखि नै उहाँलाई भावी सुल्तानका रुपमा हेरिएको थियो ।