सिन्ह्वा। संयुक्त अरब इमिरेट्स (युएई) का युवराज शेख मोहम्मद बिन जायद अल नाह्यानले विभिन्न देशका नेताहरुसँग कुराकानी गरेका छन । उनले इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँग युएईको राजधानी अबुदाबीमा भेटेर आइतबार कुराकानी गरेका हुन ।
भ्रमणका लागि आएका विडोडोलाई स्वागत गर्दै उनले विभिन्न विषयमा कुराकानी गरेकाे अधिकारीहरुले जनाएका छन् ।
“आज मैले इन्डोनेसियाका राष्ट्रपति तथा मेरा साथी जोको विडोडोलाई स्वागत गर्दै दुई पक्षीय कुराकानी गरेका छौँ,” युवराज शेख मोहम्मदले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन । उनले साझा चासो र दुई पक्षीय हितका बारेमा पनि कुराकानी गरेको सामाजिक सञ्जालमार्फत् नै जानकारी दिएका छन ।
विषेशगरेर अर्थतन्त्र, लगानी, व्यापार र विकासका क्षेत्रका साथै दुई देशको मित्रतालाई थप मजबुद बनाउने बारेमा कुराकानी भएको उनले बताए । त्यसैगरी उनले फ्रान्सका राष्ट्रपति एम्यानुएल मार्कोनसँग पनि आइतबार नै कुराकानी गरेका छन । फ्रान्सका राष्ट्रपतिसँग भने उनले टेलिफोनमा कुराकानी गरे ।
“मैले फ्रान्सका राष्ट्रपति एम्यानुएल मार्कोनसँग फोनमा कुराकानी गरेको छु, मलाई उहाँले फोन गर्नुभएको थियो,” उनको आधिकारिक ट्वीटर हेन्डलमा लेखिएको छ । उनले फ्रान्सका राष्ट्रपतिसँग पनि सहकार्यमा जोड दिदै आपसी सहयोग र सम्वन्ध विस्तारकै बारेमा कुराकानी भएको बताए।
साथै महत्वपूर्ण क्षेत्रीय विषय, अन्तर्राष्ट्रिय विकासलगायतका विषयमा पनि आफूहरुले छलफल गरेको युएईका युवराजले उल्लेख गरेका छन। “हामीले हाम्रा साझा चासो र सरोकारका विषयसँगै क्षेत्रीय सुरक्षा र स्थायित्वका बारेमा कुराकानी गरेका छौँ,” युएईको सुरक्षा निकायको सर्वोच्च उपकमाण्डर समेत रहनु भएका शेख मोहम्मदले ट्वीटरमा लेखेका छन ।
उनले यसअघि गत शनिबार नै रुसका राष्ट्रपति भ्लादिमिरि पुटिनसँग पनि विविध विषयमा छलफल गरेका थिए। उनीहरुका बीचमा पनि विकसित पछिल्लो घटनाक्रम, दुई पक्षीय सम्वन्ध र सरोकारका विषयसँगै क्षेत्रीय सुरक्षा तथा चासोका विषयमा कुराकानी भएको हो ।