काठमांडौ।रासनमा अनियमितता गरेको आरोपमा नेपाली सेनाका एक महासेनानी प्रक्राउ परेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा महासेनानी भुपालमान अधिकारी प्रक्राउ परेका हुन् ।
उनलाई ‘लाइन एरेस्ट’ गरेको सैनिक स्रोतले पुष्टि गरेको छ । महासेनानी अधिकारी नेपाली सेनाको सैनिक आवासीय महाविद्यालयमा प्रमुख सम्पर्क व्यक्ति हुंदा रासन अनियमितता गरेको खुलेपछि उनलाई सैनिक प्रहरीले हिरासतमा लिएको हो । हाल अधिकारीलाई सैनिक मुख्यालयभित्रै रहेको १५ बाहिनी अन्तर्गत (गणेश दल) मा राखिएको छ ।
अधिकारीको विषयमा छानविन गर्न सेनाले सहायकरथी प्रदिपजंग केसीको नेतृत्वमा ‘कोर्ट अफ इनक्वाईरी’ समेत गठन गरेको छ । उक्त समितिले घटनाको अनुसन्धान गरिरहेको छ । अधिकारीमाथी महाविद्यालयमा प्रमुख हुंदा आर्थिक अपचलन गरेको आरोप लागेको छ ।
उनले रासनबाट आम्दानी भन्दै प्राइवेट फण्डमा प्रति महिना १ देखी २ लाखसम्म मात्र देखाएका थिए । त्यसपछि उक्त विद्यालयको प्रमुख रहेका प्रमुख सेनानी देव क्षेत्रीले प्रति महिना ७ देखी ७ लाख ५० हजारसम्म आम्दानी देखाएको स्रोतको दाबी छ । हाल उक्त विद्यालयको प्रमुख सम्पर्क व्यक्ति रहेका प्रमुख सेनानी अनुप शाहले मासिक १५ लाख आम्दानी देखाएपछि सैनिक मुख्यालयले यसअघि रासनमा अनियमितता भएको निष्कर्श निकाल्दै अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानमा संलग्न एक अधिकारीले अनुसन्धानको क्रममा महासेनानी अधिकारीले रासन बाहिर वेचेको र ठेकेदारले उनको व्यक्तिगत खातामा पैसा समेत जम्मा गरेको प्रमाण भेटिएको बताए। सेनाले महाविद्यालयमा नै कार्यरत कोर्ट मास्टरलाई समेत पक्राउ गरेर बयान लिएको थियो । उनी शान्ति सेनामा जाने तयारीमा समेत थिए । उनले समेत महासेनानी अधिकारीको निर्देशनमै आफुले काम गरेको बयान दिएका छन् ।
अधिकारीलाई जागिरबाट निलम्बन गर्ने र असुल उपर गर्ने सजाय हुन् सक्ने सम्भावना छ । हाल वार कलेजमा कार्यरत प्रमुख सेनानी देव क्षेत्रीलाई पनि सैनिक प्रहरीले हिरासतमा लिएको छ । उनलाई सैनिक मुख्यालयभित्र रहेको एमटीमा राखिएको छ ।