काठमाडौं । फिल्म ‘प्रेमगीत ३’ को छायांकन सकिएको छ । ७० दिनको नियमित सुटिङ पछि फिल्मको छायाँकन सकिएको निर्माता सन्तोष सेनले बताए । गत एक महिनादेखि मनाङको माइनल डिग्री तापक्रममा छायांकन भइरहेको फिल्म मंगलवार सकिएको र निर्माण युनिछट बुधवार काठमाडौं आइपुगेको निर्माता सेनको भनाई रहेको छ ।
आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउने फिल्मको अब एक प्रोमोसनल गीत खिच्न बाँकी रहेको निर्माता सेनले बताए । फिल्मको छायांकन सँगसँगै सम्पादन पनि एकसाथ चलिरहेको थियो । अब, फिल्मको कलर करेक्सन, ब्याकग्राउन्ड स्कोर र डबिङको काम सुरु हुने बताइएको छ । तीन करोड लागतमा बनेको फिल्मलाई छेतेन गुरुङ र निर्माता सेनले मिलेर निर्देशन गरेका हुन् ।
मनाङ प्रस्थान गर्नुभन्दा अगाडि ‘प्रेमगीत ३’ को ४५ प्रतिशत दृश्य काठमाडौंको कीर्तिपूरमा भव्य सेट निर्माण गरेर खिचिएको थियो । फिल्मका लागि सबैभन्दा ठूलो खर्च काठमाडौंमा निर्माण गरिएको सेट र मनाङमा मुस्ताङबाट मगाइएको घोडामा भएको बताइएको छ ।
‘प्रेमगीत ३’मा अभिनेता प्रदीप खड्का, नव(अभिनेत्री क्रिस्टिना गुरुङको अलवा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनीष राउत, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतले पनि अभिनय गरेका छन् ।