समाचार

ओलीले प्रतिनिधिसभा अधिवेशन चाँडै अन्त्य गर्ने प्रचण्ड-माधवलाई डर

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि फागुन २३ गते बैठक बोलाइएको छ । अब संसद् बैठक बस्न पाँच दिन मात्र बाँकी छ । तर, नेकपा प्रचण्ड–माधव नेपाल समूहलाई भने प्रतिनिधिसभा अधिवेशन चाँडै अन्त्य हुने हो कि भन्ने डर देखिएको छ ।

प्रधानमन्त्री केपी ओली प्रतिनिधिसभा बैठक लामो समयसम्म चलाउने मूडमा छैनन् । प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव ल्याएर आफ्नो पद खोस्ने डर उनमा देखिएको छ । त्यसैले सकभर अविश्वासको प्रस्ताव रोक्ने, छल्ने, ल्याउन नदिने खेलमा उनी लाग्ने देखिएको छ । संसद् बैठक लामो समयसम्म चलिरहँदा आफू र आफ्नो सरकारको क्रियाकलापको सांसदहरूले विरोध गर्ने भयका कारण पनि ओलीले प्रतिनिधिसभाको सातौं अधिवेशन अन्त्यका लागि चाँडै राष्ट्रपतिलाई सिफारिस गर्ने सम्भावना रहेको बताइएको छ ।

प्रधानमन्त्रीसँग संसद् बैठक अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने अधिकार रहन्छ । उनले सोही अधिकार प्रयोग गर्नसक्ने देखिन्छ । त्यसैले सभामुख अग्निप्रसाद सापकोटाले कसरी प्रतिनिधिसभाको बैठक ह्यान्डल गर्लान् भन्ने चासो देखिएको छ ।

सापकोटाले चाँडै दलहरूसँग संवाद र छलफल गर्ने तयारी गरेका छन् । उनले मंगलबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । औपचारिक रूपमा नेकपा विभाजन भए पनि कानुनी रूपमा अझै एक भएकाले प्रचण्ड–माधव समूह सकसमा परेको छ । पार्टी नफुटाई नयाँ सरकार बन्ने अवस्था पनि छैन । त्यसैले संसद्बाटै नेकपा विभाजन हुने अवस्था आउने बताइन्छ ।

सभामुख सापकोटा प्रधानमन्त्री ओलीप्रति सकारात्मक छैनन् । ओलीले गरेका संवैधानिक अंगका पदाधिकारी नियुक्तिबारे सापकोटा सर्वोच्च अदालत पुगेका छन् । त्यसैले ओलीले सापकोटालाई खुलेर संसद् सञ्चालन गर्न देलान् भन्ने कसैले विश्वास गरेका छैनन् । आफूलाई अलिकति असजिलो हुनेवित्तिकै ओलीले संसद् अन्त्य गरिदिन सक्ने अनुमान गर्न थालिएको हो ।

संसद् अधिवेशन बोलाइसकेपछि रोक्ने कसैलाई ठाउँ नभएको तर्क पनि उठेका छन् । संसदको बिजनेसको रुपमा अविश्वासको प्रस्ताव दर्ता भएपछि त्यसैले प्राथमिकता पाउने प्रचण्ड नेपाल समूहको आशा छ ।

अघिल्लो अधिवेशनमै प्रक्रियामा रहेका दुुई दर्जन विधेयक भएपछि सदनले बिजनेस पाउने सम्भावना पनि छ । तर, अहिलेसम्म आफ्नो दम्भ देखाउँदै आएकाले प्रधानमन्त्री ओलीले संसद् अन्त्य गर्ने आफ्नो अधिकार प्रयोग गर्ने चर्चा चलेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *