
काठमाडौं । अहिले बजारमा नाम चलेका सहकारीहरू दिनदहाडै भागिरहेका छन् । कतिपय सहकारीका सञ्चालक गायब छन्, कतिपय सहकारी बन्द गरिएको छ । कान्तिपुर, शिवशिखर, देउराली, ओरियन्टल, गौतमश्रीलगायत हजारौं सहकारी टाट पल्टिसकेका छन् । सहकारीले पैसा फिर्ता नगरेपछि बचतकर्ताहरू तनावमा परेका छन् ।
आफैंले राखेको पैसा फिर्ता नपाएपछि बचतकर्ताले आत्महत्या गरेको खबर बाहिर आइरहेका छन् । अधिकांश सहकारीका सञ्चालक सम्पर्कविहीन बनिसकेका छन् । कतिपय त मुलुक छाडेर भागेको समाचार बाहिरिन थालेको छ । सर्वसाधारणको खर्बौ रुपैयाँ लिएका सहकारीका सञ्चालक भाग्दा वा डुबाउँदासमेत सरकारले ध्यान दिएको छैन ।
सहकारीको लुटको धन्दा अहिले छरपष्ट भइसकेको छ । सहकारीका सञ्चालकहरू यसरी दिनदहाडै गायब हुँदा पनि सरकारले बेवास्ता गरिरहेको छ । जसकारण बचतकर्ता सरकारप्रति आक्रोशित बनेका छन् । सरकारले न ती सञ्चालकलाई पक्राउ गर्न सकेको छ, न त्यस्ता सहकारीको दर्ता खारेज गर्न नै ।
सञ्चारमाध्यमले सहकारीबारे धमाधम समाचार बाहिर ल्याउन थालेपछि पनि अधिकांश बचतकर्ता डुब्नबाट जोगिएका छन् ।
केही महिनाअघि एकजना बचतकर्ता जग्गा बेचेको पैसा राख्न सहकारीको खोजीमा थिए । उनले शिवशिखरमा पैसा राख्ने निधो गरे । तर, त्यतिबेलै शिवशिखरका बारेमा समाचार बाहिर आयो । त्यसपछि उनले शिवशिखरमा गएर बुझे । शिवशिखरमा पैसा निकाल्नेको लाइन देखेर उनी तर्सिए । शिवशिखरको अवस्था देखेपछि सहकारीमा पैसा नराख्ने भन्दै फर्किएको उनी बताउँछन् ।
अघिल्लो दिनसम्म बजारबाट पैसा उठाइरहेका सहकारी भोलिपल्ट गायब हुने क्रम बढेको छ । बजार प्रतिनिधिले अघिल्लो दिन पैसा उठाउँछन्, भोलिपल्ट सहकारी नै भागिसकेको हुन्छ । यो बेथिति अहिले बजारमा व्यापक देखिन थालेको छ । सुरुका दिनदेखि सहकारीले मनलाग्दी गर्दै आएको थियो । देशको आर्थिक क्षेत्रमा तीन खम्बा भनिएको सहकारीले सरकारले बनाएको ऐनकानुनलाई धोती लगाइदियो । प्रावधान मिचेर जथाभावी लगानी गर्यो ।
बचतकर्ताले पनि आफ्नो बचत कहाँ लगानी गरेको छ ? बचत सुरक्षित छ कि छैन भनेर बुझ्ने कोसिस गरेनन् । लगेर पैसा राखिदिएपछि काम नै सिद्धिएको जस्तो गरे । अहिले आएर त्यसकै परिणाम भोग्नुपरेको छ । बचतकर्ताहरूले सोधीखोजी नगर्दा सहकारीको ठग्ने मनोबल बढेको हो । बाहिर बोर्ड टाँगिरहेको हुन्छन्, तर भित्री ढोकामा ताला लगाएर राखिएको हुन्छ । एक वर्षअगाडि ‘मै हुँ’ भन्ने सहकारी पनि बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगिसकेको छ ।
घरभाडा र कर्मचारीको तलबको कुरै छोडौं । सहकारीमा पैसा राख्न हुँदैन, सहकारीहरू टाट पल्टिसक्यो, जतिबेला पनि कुलेलम ठोक्न सक्छन् भन्ने सबैलाई थाहा छ । जो अलि बाठाटाठा थिए, उनीहरूले त पहिल्यै आफ्नो पैसा निकालिसकेका थिए । बजारमा मन्दी देखिनेबित्तिकै उनीहरू पैसा निकाल्नतर्फ लागिपरे । तर, सहकारीको विश्वासमा परेका सोझासिधा चुर्लुम्म डुबेका छन् ।
ब्याजको लोभमा परेकाहरूले न ब्याज पाए न साँवा ।
अहिले आएर सबै पैसा गुमाउनु परेको छ । सहकारी विभागका अनुसार मुलुकभर ३५ हजार २३९ वटा सहकारी दर्ता छ । त्यसमा करोडौ जनताको खर्बाैं रुपैयाँ डुबेको छ । तर, सरकार मौन बस्दा बचतकर्ताहरू आक्रोशित बनेका छन् । विज्ञापन बोर्डले समेत सहकारीमा पैसा नराख्नु भनी सुसूचित गराउँदैन । सरकारले त सञ्चारमाध्यमको जति भूमिका पनि निर्वाह गर्न सकेन ।
सहकारी नियमन गर्न सरकारका यत्रा निकाय छन् । तर, कसैले चासो देखाएको छैन । सहकारीमन्त्री रञ्जिता श्रेष्ठलाई जनता ‘बाँचून् कि मरुन्’ मतलब छैन । सहकारी विभागका महानिर्देशक नमराज घिमिरे देखेर पनि अनदेखा गरिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि जनताप्रति जिम्मेवार भएनन् ।
पछिल्लो समय बुझ्दै जाँदा सहकारीमा दुईथरीका व्यक्तिहरूले पैसा राखेका छन् । एउटा बिहान कमाएर बेलुका खानेले सहकारीमा बचत गरेका छन् । सहकारीले बैंकभन्दा बढी ब्याज दिने भएकाले त्यही लोभमा परेका पैसा राखेका हुन् । अर्को स्रोत नखुलेको रकम सहकारीमा राख्ने गरिएको छ । किनकि सहकारीले स्रोत नै माग्दैन । पैसा कहाँबाट आयो ? भनेर सहकारीले खोजी गर्दैन ।
सहकारीलाई जसरी हुन्छ बजारबाट पैसा उठाउनु मात्र छ । भाग्ने त भागिहाले । नभागेका सहकारीहरूले पनि पैसा फिर्ता गर्न सकिरहेका छैनन् । सञ्चालकहरू भन्छन्, ‘हाम्रो लगानी घरजग्गा, सेयर र गाडीमा डुब्यो ।’ सहकारीले हिजो पनि ब्याजकै प्रलोभन देखायो, आज पनि त्यही गरिरहेको छ ।
सहकारीले २२ प्रतिशत ब्याज दियो । अहिले पनि त्यति नै ब्याज दिने भनेर बचतकर्तालाई लोभ्याइरहेको छ । ब्याजको लोभमा साँवा नै जान्छ भन्ने चेतना सर्वसाधारणमा आउन जरुरी छ । किनकि सहकारीले उग्रपात नै गरिसकेको छ । यस्तो अवस्थामा पनि सहकारीको ब्याजको जालोमा पर्ने हो भने भोलि पुर्पुरोमा हात राख्नुभन्दा अन्य केही विकल्प हुँदैन ।
सहकारीका सञ्चालकहरूले अहिले बचतकर्तालाई भुल्याउने नयाँ योजना ल्याएका छन् ।
मुद्दती खाताको जम्मा गरिएको रकमलाई झिक्न नदिन ब्याजको पासो हालेर नवीकरण गर्ने काम गर्दै आएका छन् । पैसा फिर्ता नदिने, ब्याजको पासो हाल्ने अनि जबर्जस्ती नवीकरण गराउने । आपतविपत् परेको बेलामा काम लाग्छ भनेर राखेको पैसाले नै अहिले अधिकांशलाई धुरुधुरु रुवाएको छ । सहकारीमा पैसा भएर के गर्नु फिर्ता नगरेपछि ? सहकारीले पैसा फिर्ता नगर्दा कतिपयले औषधि खान सकेका छैनन् । कोठाभाडा तिर्न धौ धौ परेको छ ।
एउटै घरमा सातवटासम्म सहकारी सञ्चालनमा छन् । सहकारीहरू खुल्ने क्रम बढेपछि सर्वसाधारणले विश्वास गरे । अहिले त्यही विश्वासले कन्तबिजोग बनाएको छ । सहकारीको लुटमा स्थानीय सरकार कहाँ छ ? जनप्रतिनिधिहरू कुन दुलोभित्र पसेका छन् ? जनप्रतिनिधिहरूको त विगतदेखि नै सहकारीका सञ्चालकसँग साँठगाँठ थियो । सहकारीको कार्यक्रममा पुगेर तिनलाई ठग्ने मनोबल दिने त जनप्रतिनिधि नै हुन् ।
प्रहरी प्रशासनले पनि केही गर्न सकेको छैन । एकाधमा समस्या देखिनेबित्तिकै स्थानीय तह र प्रहरी प्रशासनले निगरानी बढाउनुपथ्र्यो । अहिले त धेरै भागिसकेका छन् । बाटोमा साग बेच्नेदेखि नेतासम्मको पैसा सहकारीमा छ । कर्मचारी, पत्रकार, व्यापारीलगायत हरेकको पैसा सहकारीले पचाइदियो । सहकारीले कसैलाई पनि बाँकी छोडेन । कुनै व्यक्तिले सापटी पैसा लियो र फिर्ता गरेन भने प्रहरीले ठगी मुद्दा चलाउँछ । तर, सरकारले नै सहकारीलाई ठग्ने लाइसेन्स दियो ।
गायक पशुपति शर्माले एउटा गीत गाएका थिए, ‘लुट्न सके लुट, नेपालमै छ छुट ।’ लुट्नेले लुटिहाले, सरकारले केही गर्न सकेन । सरकार हात बाँधेर बसे पनि नागरिक आफैं चेतनशील हुनुपर्छ । ब्याजको लोभमा सहकारीमा पैसा राख्नु भनेको ‘आफ्नो खुट्टामा आफैं बञ्चरो हान्नु’ हो । डुबेकाहरूले पनि अरुलाई बचाउने काम गर्नुपर्छ । अन्य सहकारीझैं राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको अवस्था पनि नाजुक बनेको छ । केही समययता त्यहाँ पनि पैसा निकाल्नेको भीड छ । बचतकर्ताहरूले बचत गर्न छोडिसकेका छन् । उनीहरूको ‘रातमा निद्रा न दिनमा भोक’ छ । अरु सहकारी घरजग्गा, सेयरमा लगानी गरेर डुब्यो, सिन्सियरलाई चाहिँ थोत्रा ट्याक्सीले डुबायो ।
भक्तपुर