
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
चैत १२ गतेदेखि चलिरहेको अनुसन्धानमा ५९औँ दिनमा प्रहरीले सोमबार अनुसन्धान प्रतिवेदन बुझाएको हो । सरकारी वकिलले पनि प्रतिवेदनलाई मंगलबार अदालतमा पेस गरिसक्नुपर्ने समयसीमा छ ।
प्रहरीले पक्राउ परेका १६ सहित ३२ जनाविरुद्ध विभिन्न ६ वटा कसुरमा मुद्दा चलाउन रायसहितको १५० पृष्ठभन्दा लामो प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको हो । १२ जनाभन्दा बढी फरार छन्।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डेसहित पाँचजनालाई संगठित, ठगीसहित राज्यविरुद्धको कसुरमा पनि मुद्दा चलाउन सिफारिस गरिएको प्रहरी स्रोतले बतायो । जिल्ला सरकारी वकिलको कार्यालयले केही मिसिल भने अध्ययनका लागि लगिसकेको छ ।
नेपालमा रहेका भुटानीमध्ये केहीलाई तेस्रो देशमा पुनर्वास गर्न भन्दै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला गृह मन्त्रालयले कार्यदल गठन गरेको थियो । जसमा ४३५ जनालाई अमेरिकालगायतका देशमा पठाउन भन्दै अनुसूचीमा नाम थपिएको फेला परेको छ ।
गिरोहले अमेरिका पठाइदिने भन्दै ८७५ जनाबाट जनही १० देखि २० लाख रुपैयाँसम्म असुलेको पुष्टि भइसकेको छ । प्रहरीले एक सय ६ जना पीडितको उजुरी लिएर सवा २६ करोड बराबरको बिगोदाबी गरी मुद्दा चलाउन सिफारिस गरेको छ ।