समाचार

मधेस सरकार ढाल्ने माओवादी र जनमतको योजना असफल, लोसपा सरकारमा सहभागी हुने

काठमाडौं । मधेस सरकार ढाल्ने माओवादी र जनमत पार्टीको योजना असफल भएको छ । मधेसमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री छन् । यादवले हालै नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएका थिए । त्यसलगत्तै माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै बाहिरिएको थियो ।

सरकारबाट बाहिरिएलगत्तै माओवादीले जनमत पार्टी र लोसपासँग मिलेर यादव नेतृत्वको सरकार ढाल्ने तयारी गरेको थियो । मधेसमा जनमतको १३ र माओवादी तथा लोसपाको नौ–नौ सिट छ । यी तीन दल एक ठाउँमा आउँदा ३१ सांसद हुन्छन् । त्यसैले यादव नेतृत्वको सरकार अल्पमतमा पर्ने सम्भावना धेरै थियो ।

गठबन्धनमा कांग्रेसको २२, जसपाका १८ र एकीकृत समाजवादीको सात सिट छ । यतिले मात्र यादव नेतृत्वको सरकार सुरक्षित हुँदैनथ्यो । सोही कारण लोसपालाई पनि सरकारमा सहभागी गराइने भएको छ । बिहीबार नै लोसपाबाट मन्त्री बन्नेले शपथ ग्रहण गर्ने सम्भावना बलियो बनेको छ ।

स्रोतका अनुसार लोसपाबाट रमेशप्रसाद कुर्मी मन्त्री बन्ने भएका छन्। वन मन्त्रालय लिएर लोसपाले कुर्मीलाई सरकारमा पठाउन लागेको हो। मुख्यमन्त्री यादवले गृह सञ्चार तथा कानुन, वन तथा वातावरण र श्रम तथा यातायात मन्त्रालय सम्हालिरहेका छन् ।

दुईवटा मन्त्रालय पाउनुपर्ने अडानमा सरकारविरूद्ध उत्रेका संसदीय दलका नेता अभिराम शर्मालाई पार्टी अध्यक्ष महन्थ ठाकुरले कुर्मीलाई सरकारमा पठाउन निर्देशनसमेत दिइसकेको एक नेताले बताए । ठाकुरले कुर्मीलाई सरकारमा पठाउन भने पनि संसदीय दलका नेता शर्माले महोत्तरीबाट निर्वाचित रानीकुमारी शर्मालाई मन्त्री बनाउन चाहेका छन्। नेता शर्माले बिहीबार मुख्यमन्त्रीलाई नाम नबुझाए प्रदेश समितिका तर्फबाट पत्र लेखेर कुर्मीलाई मन्त्री नियुक्त गर्न आग्रह गर्ने लोसपाको तयारी भएको बताइन्छ ।

केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि मुख्यमन्त्री यादवले जेठ ९ मा नेपाली कांग्रेसका दुई र एकीकृत समाजवादीका एक गरी तीनजनालाई सहभागी गराउँदै मन्त्रिपरिषद विस्तार गरिसकेका छन् । मन्त्रिपरिषद विस्तारप्रति सत्ता गठबन्धनका घटक दलहरू माओवादी र जनमत पार्टी अहिले पनि असन्तुष्ट नै छ । दुई मन्त्रालयमा दाबी गरिरहे पनि एउटामात्रै पाउने भएपछि माओवादी रुष्ट बनेको हो । मन्त्रिपरिषद विस्तारप्रति असन्तुष्टि जनाउँदै माओवादीले सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *