
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लगानीकर्ताहरूले ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् ।
बिहीबार देउवा निवास पुगेर नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुल्सीराम ढकाल, निवर्तमान अध्यक्ष छोटेलाल रौनियार, नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल र सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले ज्ञापनपत्र बुझाएका छन् ।
उनीहरूले देउवालाई हालको पुँजी बजारको स्थितिबारे अवगत गराउँदै आगामी दिनमा हुनुपर्ने सुधारका पाटाहरू औँल्याएका छन् । सोही क्रममा लगानीकर्ताहरूको ३ वटा संगठनले संयुक्त रूपमा प्रधानमन्त्रीलाई ६ बुँदे मागसहित अन्य सबै कुरा समेटिएको ज्ञापनपत्र बुझाएका छन् ।
यस्ता छन् लगानीकर्ताहरूको माग
१. लगानीकर्ताहरूको प्रमुख मागको रूपमा रहेको खुल्ला रूपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ती कार्यान्वयन गर्न अनुरोध गर्दछौं ।
२. १२ करोडसम्मको सेयर कर्जाको सीमाले सेयर बजारलाई निरुत्साहित गरेकाले सो व्यवस्थालाई फिर्ता लिन अनुरोध गर्दछौं ।
३. सेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिनु हुन अनुरोध गर्दछौं ।
४. लगानीकर्तालाई अल्पकालीन र दीर्घकालीन लगानीकर्ताको रूपमा विभाजन गरी सोहीअनुरूप अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था गर्न अनुरोध गर्दछौं ।
५. विद्यमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकाले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिनु हुन अनुरोध गर्दछौं ।
६. तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था सिर्जना हुन गएकाले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गरिदिनु हुन अनुरोध गर्दछौं ।