
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका सम्बन्धमा छलफल भएको छ । समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले चाडबाडहरू नजिक आइरहेको बेला दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको भन्दै तत्काल बजार अनुगमन गर्न माग गरे ।
सांसदहरुले बजारमा कतिपय दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना भएको, दाल, चामल, चिनी तेल, खाना पकाउने ग्यास तथा तरकारीको मूल्य वृद्धिका कारण सर्वसाधारणलाई दैनिक छाक टार्न समेत कठिन हुने गरेको विचार व्यक्त गरे । वर्षमा कति पटक खाद्यवस्तुको मूल्य वृद्धि गर्न मिल्छ भन्दै सांसदहरुले बैठकमा आयात कम गर्दै निर्यात बढाउनुपर्नेमा जोड दिए ।
बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग हाल एक लाख ७० हजार ८ सय २ क्विन्टल खाद्यान्न मौज्दात रहेको जानकारी दिए ।
सचिव मरासिनीले स्थानीय रैथाने बाली खरिद गरी काठमाडौँ महानगरपालिका भित्रका ९८ वटा सामुदायिक विद्यालयका ३४ हजार बालबालिकालाई रैथाने खाद्यान्नको दिवा खाजा खुवाउने कार्य आरम्भ भएको जानकारी दिए ।
बैठकमा नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले भारतीय आयल निगमले मूल्य बढाएपछि स्वचालित मूल्य प्रणालीकै आधारमा नेपालमा खाना पकाउने ग्याँसको मूल्यवृद्धि भएको जानकारी गराए ।