
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दा स्थगितको सूचीमा परेको छ ।
तीज पर्व तथा पर्याप्तमात्रामा न्याायधीश नहुँदा लामिछानेको मुद्दा स्थगितको सूचीमा परेको हो ।
यसअघि पटक-पटक पेसी चढेर पनि अन्तिम बहस हुन नसक्दा मुद्दाले किनारा पाउन सकेको छैन ।
गोलाप्रथाद्वारा अदालतमा मुद्दाको तय हुने गरेको छ। कुनै न्यायाधीश बिदामा रहँदा उनीहरूकोमा समेत पेसी पर्ने सम्भावना हुने गर्छ। यस्तो अवस्थामा मुद्दा स्थगनमा पर्ने गरेको छ।
लामिछानेकाे मुद्दाको पनि गाेलाप्रथाबाट छानिएकाे थियाे । गाेलाप्रथाबाट छान्दा न्यायधीश केशव घिमिरेकाे इजलासमा सन्दिपकाे मुद्दा तय भएकाे थियाे । तर,घिमिरेको इजलासमा तय भएपनि उनी बिदामा भएका कारण आजको सुनुवाइ स्थगित भएकाे सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बताए ।
यसअघि गत २१ भदौमा पछिल्लो पटक सन्दीपको पेसी रहेको थियो। उक्त दिन न्यायाधीश सकुन्तला कार्कीको इजलासमा वादी पक्षले दिनभर बहस गरेपछि उनले बसाइँसराइको कागजको ढड्डा झिकाउन आदेश दिएकी थिइन्। उक्त आदेश अनुसारको ढड्डा अदालतमा आइसकेको छ।
सर्वोच्च अदालतको आदेशमा उक्त मुद्दालाई छिटो सुनुवाइ गर्नु भनी आदेश भएपछि काठमाडौँ जिल्ला अदालतले साउन ३२ गतेलाई नै अन्तिम सुनुवाइको मिति भनेको थियो । यद्यपि उक्त मितिमा प्रमाण बुझ्ने आदेश दिइएको थियो । त्यसपछि भदौ १० गतेको पेसी हेर्न नभ्याउनेमा परेको थियो भने भदौ २१ गतेको पेसीमा पुनः प्रमाण बुझ्ने आदेश भएको थियो ।
असोज १ गतेका लागि पेशी तोकी अन्तिम सुनुवाइ भनेपनि न्यायाधीशको अभावका कारण उक्त मुद्दा स्थगितको सूचीमा परेको हो । काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार कौशलेश्वर ज्ञवालीका अनुसार गोला तान्दा सन्दीपको मुद्दा रहेको फाँटको गोला नपरेपछि उनको मुद्दा स्थगितको सूचमिा परेको हो । ३५ न्यायाधीशको दरबन्दी रहेको काठमाडौं जिल्ला अदालतमा सोमबार १६ न्यायाधीश मात्रै उपस्थित छन् ।