काठमाडौँ । एसीसी यू- १९ प्रिमियर कपमा आज नेपालले साउदी अरेबियासँग खेल्दैछ । मलेसियाको वाइकेएम क्रिकेट ओभलमा हुने यो खेल नेपाली समय अनुसार बिहान ७: १५ बजेदेखि शुरु हुदैछ ।
नेपाल सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने हुन्छ । समुह ए मा रहेको नेपाल र साउदी अरेबिया दुवैले यसअघिका आफ्ना २-२ खेल नै जितेर ४-४ अंक हासिल गरेका छन् । अब यस खेलको विजेता सेमिफाइनलमा पुग्ने छ ।
नेपालले यसअघि पहिलो खेलमा इरानमाथि शानदार २७४ रनको जित हासिल गरेको थियो भने दोस्रो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो । त्यसैगरी साउदी अरेबियाले आफ्नो पहिलो खेलमा इरानलाई ४ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा बहराइनलाई ६७ रनले हराएको थियो ।
प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसलाई चार समूहमा विभाजन गरिएको छ । शीर्ष तीन टोलीले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू- १९ एसिया कपमा छनौट हुने छन् ।
एशिया कपमा भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका सोझै छनोट भएका छन् भने अन्य तीन देश यस प्रिमियर कपबाट छनौट हुने छन् । यू- १९ प्रिमियर कपको समूह ए मा नेपालसहित बहराइन, साउदी अरेविया र इरान रहेका छन् भने समूह बी मा युएई, ओमान, कतार र चीन रहेका छन् ।
त्यस्तै समूह सीमा सिंगापुर, कुवेत, थाईल्यान्ड र माल्दिभ्स रहेका छन् भने समूह डी मा हङकङ, मलेसिया जापान र इन्डोनेसिया रहेका छन् । हरेक समूहका शीर्ष टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोली र तेस्रो स्थानमा रहने गरि तीन टोली एसिया कप खेल्नेछन् । तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित हुने टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै सेमिफाइनलका खेल कार्तिक ५ गते हुने छ भने फाइनल र तेस्रो स्थानको खेल कार्तिक ७ गते हुनेछ ।
नेपालको टोली: देव खनाल(कप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक ड्रुमे, दीपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल केसी र मिलन बोहरा ।