काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकपमा आज भारत र बंगलादेशबीच भिडन्त हुदै छ । भारतको पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुदै छ ।
जारी विश्वकपमा भारतले यसअघि लगातार तीन खेलमा जित हासिल गरेर शानदार शुरुवात गरेको छ भने बंगलादेशले खेलेका तीन खेलमा एक जित र दुई हार बेहोरेको छ ।
भारतले आफ्नो पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो ।
त्यसैगरी बंगलादेशले पहिलो खेलमा अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा इङल्याण्डसँग १३७ रनको हार बेहोरेको थियो । त्यस्तै तेस्रो खेलमा न्यूजील्याण्डसँग ८ विकेटको हार बेहोरेको थियो ।
भारत र बंगलादेशबीच अहिलेसम्म ४० एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन्, जसमा भारतले ३१ खेल जितेको छ भने बंगलादेशले ८ खेल जितेको छ । त्यस्तै एक खेलको नतिजा आएको थिएन । तर रोचक के छ भने भारत र बंगलादेशबीच २०१९ को विश्वकपपछि खेलिएका चार खेलमा बंगलादेशले ३ खेल जितेको छ भने भारतले १ खेल मात्र जितेको छ । पछिल्लो पटक दुवै एशिया कपको सुपर फोरमा खेलेका थिए, सो खेलमा बंगलादेशले भारतलाई ६ रनले पराजित गरेको थियो ।
भारतको सम्भावित प्लेइङ ११- रोहित शर्मा (कप्तान), इशान किशन, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, आर अश्विन, कुलदीप यादव, जसप्रित बुमराह र मोहम्मद सिराज ।
बंगलादेशको सम्भावित प्लेईङ ११- शकिब अल हसन (कप्तान), नजमुल हुसेन शान्तो (उपकप्तान), लिट्टन दास, तान्जिद हसन तमिम, तौहिद ह्रिदोय, मुशफिकुर रहिम, मधुमुल्लाह, मेहदी हसन मिराज, तस्किन अहमद, मुस्ताफिजुर रहमान र शोरिफुल इस्लाम ।