खेलकुद

दोस्रो जितको खोजीमा हङकङविरुद्ध मैदान उत्रदै नेपाल

काठमाडौं।त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले दोस्रो खेलमा बिहीबार हङकङविरुद्ध खेल्दैछ । हङकङविरुद्ध मैदान उत्रिँदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

यसअघि नेपालले पहिलो खेलमा बुधबार यूएईविरुद्ध ७ विकेटको सहज जित निकालेको थियो । टी–२० विश्वकप छनोटको तयारी स्वरुप आयोजित शृङ्खलामा नेपाल, यूएई र हङकङ प्रतिस्पर्धा गरिरहेका छन् । खेल बिहान ११ बजे मूलपानी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा हङकङको यो पहिलो खेल हो ।

नेपालले तेस्रो खेल कार्तिक ४ गते हङकङसँग नै खेल्नेछ । त्यसपछि नेपालले कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ । यूएई र हङकङले भने कात्तिक ५ र ८ मा खेल्नेछन् । लिग चरणका सबै खेल मूलपानी हुनेछ । तर, फाइनल खेल भने किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । बुधबार यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा पूरा गरेको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले नटआउट ५१ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट ३४ रन बनाए । रोहितले ४० बलमा ५ चौका र दीपेन्द्रले २३ बलमा ३ चौका र १ छक्का हिर्काए ।

नेपालका ओपनर कुशल भुर्तेल १४ रनमा आउट भएका थिए । अर्का ओपनर आसिफ शेखले २३ रनको योगदान दिँदा कुशल मल्ल ११ रन जोडेर आउट भए । त्यसअघि नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन जोड्यो ।

यूएईका लागि बासिल हमीदले अर्धशतक प्रहार गरे । उनले ५१ रन जोडे । अभिनास बोहराको बलमा आउट हुनुअघि उनले ३८ बलमा १ चौका र ४ छक्का प्रहार गरे । त्यसअघि यूएईका ओपनर खालिद शाहलाई सोमपाल कामीले पहिलो ओभर मै शून्यमा रोहित पौडेलबाट क्याच गराए ।

चौथो ओभरमा करण केसीको बलमा अलिसान शाराफ ६ रनमा कुशल भुर्तेलबाट समातिए । त्यसपछि गुल्सन झाले दुई विकेट लिन सफल भए । उनले यूएईका कप्तान मोहमद वासीमालाई १७ रनमा र असिफ खानलाई १५ रनमा आउट गरेका थिए । करणले यूएईका लागि ३२ रन बनाएर खेलिरहेका अली नासीरलाई १७ ओभरको पहिलो बलमा पाँचौ विकेटको रुपमा आउट गरे ।

बलिङमा नेपालका करण केसीले ३ विकेट लिए । उनले ४ ओभरमा १९ रन खर्चिए । यस्तै गुल्सन झाले २ विकेट लिए । उनले ३ ओभरमा ११ रन खर्चिए । अभिनास र सोमपाल कामीले १-१ विकेट लिन सफल भए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *