देश

कैद मिनाहा पाएको २५ दिन मै लोकबहादुरले गरे महिलाको हत्या, कारण अनैतिक सम्बन्ध

काठमाडौं।राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरिएका रुकुम पश्चिममा एक व्यक्तिले जेलमुक्त भएको २५ दिनमा एक महिलाको हत्या गरेका छन् ।

गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी भएर कारागार कार्यालय रुकुमबाट कैदमुक्त भएका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ का ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर बिकले होटेलमा लगेर एक महिलाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

लोकबहादुरले मुसीकोट नगरपालिका–७ साँखकी २८ वर्षीया भावना बिकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए ।

लोकबहादुर गत असोज ३ गते नवौँ संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद माफी गरिएपछि कैदमुक्त भएका व्यक्ति हुन् । उनी बहुविवाह मुद्दामा कैद भुक्तान गरिरहेका थिए । उनै लोकबहादुरले कैदमुक्त भएको २५ दिनपछि असोज २९ गते सोमबार भावनालाई मुसीकोट नगरपालिका–१ खलंगा बजारको होटेल सत्कारमा हत्या गरेको प्रहरीको दाबी छ ।

अघिल्लो दिन होटेल पुगेका उनीहरूले त्रिवेणी गाउँपालिकाका विकास केसीको नाममा श्रीमानश्रीमती नाता उल्लेख गरेर होटेलको कोठा नम्बर १ बुक गरेका थिए । दुवै जना असोज २९ गते बिहान १० बाट सम्पर्कमा नआएपछि ३० गते बिहान बन्द कोठा खोलेर हेर्दा भावनाको शव सिरकले छोपिएको अवस्थामा भेटिएको थियो ।

लोकबहादुरले भावनाको घाँटीमा धारिलो चक्कु प्रयोग हत्या गरेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए । अनैतिक सम्बन्ध र आर्थिक लेनदेनको कारण हत्या भएको प्रहरीको भनाई छ । मृतकको श्रीमान् र हत्या आरोपितको श्रीमती हाल वैदेशिक रोजगारीमा रहेको छन् । प्रहरीले घटनामा प्रयोग भएको चक्कु बरामद गरेको छ । त्यस्तै, ८५ हजार ८३५ रुपैयाँ बरामद गरेको छ।

प्रतिवादी कारागारमुक्त भए यता २५ दिनमा दुई जनाबीच मोबाइलमा १२४ पटक कुराकानी भएको, प्रतिवादी कारागारमा रहँदा मृतक दुई पटक भेट्न गएको कुरा खुल्न आएको प्रहरीले उल्लेख गरेको छ ।

मृतक भावना गत बर्ष भएको स्थानीय तह निर्वाचनको बेला म्यादी प्रहरीमा भर्ना भएर सानीभेरी गाउँपालिका कार्यक्षेत्रमा खटिएकी थिइन् । सानीभेरी-९ सिम्लीमा रहेको हत्या आरोपित लोकबहादुरको होटेलमा म्यादी प्रहरीले खाना खाने गरेका थिए । प्रहरीका अनुसार त्यतिबेलैदेखि दुवै जना नजिक भएका हुन् ।

बहुविवाह मुद्दामा रुकुम कारागारमा कैद भुक्तान गरेका लोकबहादुरलाई उच्च अदालत सुर्खेतले २०७६ जेठ ९ गते एक वर्ष कैद सजाय सुनाइएको थियो । लोकबहादुर २०७९ फागुन १४ गतेदेखि कैद भुक्तान गरेका थिए । अन्तिम फैसला नहुँदा त्यसअघि उनी २४ दिन कैद भुक्तान गरेका थिए ।

२०८० माघ १९ गते कैदमुक्त हुनुपर्ने लोकबहादुरलाई ७ महिना १२ दिन कैद भुक्तान गरेको र असल चालचलन रहेको भनी राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरिएको थियो ।

कैद भुक्तान गर्न ३ महिना २३ दिन बाँकी रहँदै कैदमुक्त भएका लोकहादुरले कारागारबाट निस्केको २५ दिनपछि महिलाको हत्या गरेका हुन् । प्रहरीले लोकबहादुरविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर थप अनुसन्धान गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *