देश

मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीको ‘ब्रिफिङ’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गरेका छन् ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गराएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

चीनमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई गएराति सामान्य प्रकारको हृदयाघात भएको थियो । प्रधानमन्त्री दाहालले उनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कजेजमा उपचार भइरहेको जानकारी गराएक मन्त्री शर्माले बताए । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको मन्त्री शर्माले जानकारी दिइन् ।

“प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे चीनका लागि नेपाली राजदूतसँग जानकारी लिइराखेका छन् ।

उपचारका क्रममा केही दिन उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा नै रहने जानकारी आएको छ”, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्री शर्माले भनिन् ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय मानवअधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।

बैठकमा नेपाल र इजिप्टबीचको युवा तथा खेलकुदसम्बन्धी समझदारीपत्र स्वीकृत गरी सो समझदारी पत्रमा समकक्षी मिलाइ हस्ताक्षर गर्न युवा तथा खेलकुद मन्त्रालय तथा नेपाल र कतारबीच हुने सञ्चारसम्बन्धी समझदारी स्वीकृति गर्ने र उक्त समझदारी पत्रमा समकक्षी मिलाइ हस्ताक्षर गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई अख्तियारी दिइएको मन्त्री शर्माले जानकारी दिइन् ।

बैठकले नजिकिएको चाडपर्व दसैँ, तिहार, नेपाल संवत्, छठलगायत राष्ट्रिय पर्वका अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *