काठमाडौं । सरकारले स्पेनसहितका विभिन्न देशसँग श्रम सम्झौता गर्ने जनाएको छ । । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानिया र जर्मनीसँग श्रमसम्झौता गरेपछि अव खाडी मुलुकलाई कम प्राथमिकता दिएर ठूला विकसित देशसँग श्रमसम्झौता गर्ने जनाएको छ । मन्त्रालयले स्पेनसहित पोर्चुगल, साईप्रस, माल्टा लगायतका देशसँग श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
श्रममन्त्री शरतसिंह भण्डारीका अनुसार दुवै देशका अधिकारीहरूले छलफल गर्ने, सम्झौता पत्रको मस्यौदा तयार पार्ने लगायतका काम भइरहेको छ ।रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेर फर्किएपछि आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले अब श्रमिकको लागि यूरोपको ढोका खुलेको उल्लेख गरे ।
खाडी मुलुकमा नेपालीहरु पठाएर नेपालीहरुको आर्थिक अवस्थामा धेरै सुधार नभएको र नेपालीहरुले पनि कुनै सिप सिक्न नसकेको बताउदैँ अब दुबैको अवसर युरोपबाट नै संम्भव हुने उनको भनाइ छ । पछिल्लो समय नेपालीहरूले खाडी तथा मलेसियासँगै यूरोपका विभिन्न देशहरूलाई श्रम गन्तव्य बनाउँदै गएका छन् । जसले गर्दा सरकारलाई ती देशहरूसँग सम्झौता गरेर अघि बढ्ने बाटो खुलेको हो ।
सरकारले जर्मनीसँग ट्रेनी कामदारको रूपमा लैजाने गरी सम्झौता गरेको थियो । त्यस्तै रोमानियासँग समेत श्रम सम्झौता गरेको थियो । यो सम्झौतासँगै रोमानिया जाने श्रमिकहरू ठगिनबाट बच्ने, १० औँ लाख रुपैयाँ तिरेर जानुपर्ने बाध्यता हट्ने विश्वास मन्त्रालयले लिएको छ ।