
काठमाडौं । निर्वाचन परिणामका विषयमा विवाद बढेपछि गैर आवासीय नेपाली संघ (एनआरएन) को समापन समारोह अन्योलमा परेको छ । बिहिबार मध्यराति निर्वाचन कमिटीले बद्री केसी निर्वाचित भएको घोषणा गरेपछि उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलले नेपालबाट पाएको मत शून्य देखाएपछि मत परिणाम विवादित बनेको हो ।
अध्यक्षमा केसीसँग प्रतिस्पर्धा गरेका महेश श्रेष्ठ र आरके शर्माले भोटिङ प्रणाली कब्जामा लिएर धाँदली गरेको आरोप लगाएका छन् । दुबै पक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर विवादबारे ब्रिफिङ गरेपछि समापन समारोहमा नजान आग्रह समेत गरेका छन् ।
प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार निर्वाचनको विषयलाई लिएर विवाद बढेपछि विवादित निर्वाचनको समापनमा प्रधानमन्त्रीलाई उपस्थित नहुन आग्रह भएकाले प्रधानमन्त्रीले उक्त समापन समारोहमा नजाने संकेत गरेका हुन् । कार्यक्रम नै स्थिगित भन्ने कुरा आएकाले अब जाने मनसाय नभएको प्रधानमन्त्रीको आशय रहेको छ ।