काठमाडौं । सरकारले क्यानडाका लागि नेपाली राजदूतमा परराष्ट्र सचिव भरतराज पौड्याललाई नियुक्ति सिफारिस गर्ने निर्णय गरेको छ । हिजोको मन्त्रिपरिषद् बैठकले पौड्याललाई राजदूत सिफारिस गरेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । पौड्यालको नियुक्ति सिफारिसबारे सरकारले औपचारिक घोषणा भने गरिसकेको छैन ।
अब सरकारले उनको नाममा क्यानडासँग लिखित सहमति माग्नेछ । सो सहमतिपछि राष्ट्रपतिले उनको नियुक्तिको घोषणा गर्नेछन् । यसपछि राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ खाएर पौडेल जिम्मेवारी सम्हाल्न क्यानडा आउने छन् ।
अक्टोबर ९, २०२० मा परराष्ट्र सचिव नियुक्त पौड्याल चाँडै अवकाश पाउँदैछन् ।
उनी पाकिस्तानका लागि पूर्व नेपाली राजदूत समेत हुन् । इस्लमावादबाट फर्केपछि उनले परराष्ट्र प्रवक्ताको जिम्मेवारी निर्वाह गरेका थिए । गत अप्रिलमा तत्कालीन राजदूत भृगु ढुंगाना गत चार वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्केसँगै अटवास्थित नेपाली दूतावासमा राजदूत पद रिक्त थियो । ढुंगाना फर्केपछि परराष्ट्र उपसचिव रोजिना ताम्राकारले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालिरहेकी थिइन् ।
गत जुलाई दोस्रो साता सरकारले रिक्त रहेका न्युयोर्क, जेनेभा, थाइल्याण्ड, कुवेत, फ्रान्स र यूएईमा परराष्ट्रका ६ सहसचिवलाई राजदूत नियुक्तिको सिफारिस गरेको थियो । तर क्यानडा खाली थियो । त्यसबेला परराष्ट्र सचिव पौड्याल राष्ट्रसंघका लागि न्युयोर्कस्थित नेपाली स्थायी प्रतिनिधि नियुक्ति सिफारिस गर्ने चर्चा थियो । तर सरकारले परराष्ट्र सहसचिव लोकबहादुर थापालाई सो पदमा नियुक्ति गर्यो । उनले एक महिनाअघि न्युयोर्क पुगेर कार्यभार सम्हालिसकेका छन् ।