
काठमाडौं । हमासका सशस्त्र लडाकुहरूले गत अक्टोबर ७ मा इजरेलमा गरेको आश्चर्यचकित पार्ने आक्रमणको जबाफमा इजरायलले गाजा क्षेत्रमा व्यापक आक्रमण गरिरहेको छ । इजरायलले प्यालेस्टिनी एन्क्लेभमा बमबारीपछि गाजा पट्टीमा कम्तिमा चार हजार १३७ व्यक्तिको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । यसैगरी अक्टोबर ७ देखि जारी इजरायली हमलामा १३ हजार १६२ जना घाइते भएको मन्त्रालयले उल्लेख गरेको छ ।
द न्युयोर्क टाइम्सका अनुसार हमासका लडाकुहरू इजरायलमा पसेर विभिन्न गाउँमा नरसंहार मच्चाएका थिए । इजरायलले गरेको जवाफी कारबाहीमा गाजामा पनि हमास लडाकुसँगै धेरै सर्वसाधारणको मृत्यु भएको छ । अहिले इजरायलबाट गाजा क्षेत्रमा हुन सक्ने सम्भावितस्थल कारबाहीलाई लिएर संसारभरि तरङ्ग उत्पन्न भएको छ ।
यो द्वन्द्व र यसको असर कहाँ पुगेर अन्त्य हुन्छ भन्नेबारे अहिले नै यसै भन्न सक्ने अवस्था छैन । अमेरिकाले संसारकै सबैभन्दा ठूलो विमानवाहक जहाज जेरल्ड आर फोर्डलाई इजरायल नजिक तैनाथ गरेको छ । अमेरिकीहरूले दुईवटा विमानवाहक लडाकु पानीजहाजको समूह पूर्वी भूमध्यसागरमा तैनाथ गराएको छ र यो द्वन्द्वमा टाढै बस्न इरानलाई स्पष्ट सन्देश दिएको छ ।
यदि कसैले हस्तक्षेप गर्यो भने उनीहरूले इजरायलको मात्र नभई अमेरिकी सैनिकको सामर्थ्यसँग पनि जुझ्नुपर्ने सन्देश दिन खोजेका छ । मध्यपूर्वमा अमेरिका र उसका साझेदार अनि इरान र उसका साझेदारबीच ठूलो टकराब छ । दुवै पक्ष जोखिमका बारेमा जानकार छन् । यदि त्यो चिसोपन अझ बढ्यो भने त्यसले विश्वभरि प्रभाव पार्ने मध्यपूर्व द्वन्द्वलाई जन्माउने छ ।
गाजामा इजरायलले गर्न सक्ने स्थल कारबाहीको उद्देश्य के ?
अघिल्ला वर्षहरूमा ‘हमासमाथि कडा प्रहार गर्ने’ चेतावनी दिएको इजरायलले त्यसका लागि उसका सुरुङहरूको सञ्जाल नष्ट गर्ने र इजरायलभित्र रकेट प्रहार गर्ने सामर्थ्यलाई ध्वस्त पार्ने बताएको थियो । तर अहिले समय फेरिएको छ । इजरायलले हमासलाई ‘निमिट्यान्न पारिदिने’ उद्घोष गरेको छ । उसका अनुसार इस्लामिक स्टेट समूह जस्तै हमासलाई पनि निर्मूल गरिदिनु पर्छ ।
हमासका भौतिक पूर्वाधारहरू ध्वस्त पार्ने, सुरुङहरू भत्काइ दिने र उसको कमाण्ड र नियन्त्रण सञ्जाललाई अस्तव्यस्त पार्ने सैनिक सामर्थ्य इजरायलसँग छ । तर गाजाभित्रको अवस्था कस्तो छ भन्ने कुरा इजरायललाई कति जानकारी छ भन्ने स्पष्ट छैन ।
इस्लामिक स्टेट समूहभन्दा पृथक हमास एउटा राजनीतिक र सामाजिक समूह हो जसले प्यालेस्टिनी समूहमा गहिरो छाप छाडेको छ ।
सैनिक कारबाहीले उसका भौतिक संरचनाहरूलाई ध्वस्त पारिदिए पनि त्यसले उनीहरूले उठाएका विषयहरूमा ज्यान दिन तयार मानिसहरूको हिम्मतलाई अझ कठोर बनाउने छ । हमासका प्रवक्ता मुहम्मद अल–डेफले गाजा र वेस्ट ब्याङ्कमा इजरायलहरूका कारण प्यालेस्टिनीहरूले भोगेको निरन्तरको उक्साहट र अपमानको प्रत्युत्तर दिन आक्रमण गरिएको बताएका थिए । तर विज्ञहरू अरू अघोषित कारणहरू रहेको ठान्छन् । हमलाअघि इजरायल र साउदी अरब आफूबीचको सम्बन्ध सामान्य बनाउने प्रयासमा थिए । हमास र उसलाई समर्थन गरिरहेको इरान दुवैले त्यसको विरोध गरेका थिए । साउदी अरबले अहिले इजरायसँगको वार्ता स्थगित गरेको छ ।
तर हमासको नेतृत्वले बेन्यामिन नेतन्याहुको दक्षिणपन्थी सरकारले ल्याएको न्यायिक सुधारका कारण इजरेली समाजमा देखिएको चरम विभाजनलाई पनि देखेको छ । उनीहरूले इजरेललाई ठूलो धक्का दिने उद्देश्य राखेका थिए र त्यसमा उनीहरू सफल देखिए ।
लेबनन पनि युद्धमा मिसिए के हुन्छ ?
लेबननमा आधारित सैनिक, राजनीतिक र सामाजिक अभियान हिज्बुल्लाहलाई इजरायलले हमास भन्दा बढी खतरनाक शक्ति मानेको छ । धेरै अस्त्रशस्त्र भएको तथा इरानको समर्थन पाएको उक्त समूहसँग एक लाख ३० हजार वटा रकेट र क्षेप्यास्त्र रहेको सेन्टर फर स्ट्रटीजिक एन्ड इन्टरन्याश्नल स्टडिजले जनाएको छ ।
हिज्बुल्लाहसँग विमानभेदी र पानीजहाजभेदी क्षेप्यास्त्रहरू पनि छन् । यसै गरी इजरायलको भित्रसम्म हान्न सक्ने गाइडेड क्षेप्यास्त्रहरू पनि छन् । हिज्बुल्लाहका नेताहरूले आफूहरूसँग एक लाख लडाकु रहेको दाबी गर्छन् । तर स्वतन्त्र आँकडा उक्त संख्या २० देखि ५० हजार बीचमा हुन सक्ने अनुमान छ । कैयौं लडाकु सिरियाको गृहयुद्धमा सहभागी भएका छन् । इजरायलले हमासका लडाकुको संख्या ३० हजार रहेको अनुमान गरेको छ । बीबीसीको सहयोगमा