
कायरो । इजरायल र हमासबीच जारी युद्ध अन्त्यका लागि इजिप्टको राजधानी कायरोमा बसेको अरब र युरोपेली राष्ट्रका नेताहरुको बैठक निष्कर्षविहीन भएको छ ।
हमासको आक्रमणपछि इजिप्ट र जोर्डनले इजरायलको कडा आलोचना गरेका छन् र गाजामा विगत दुई सातादेखि भइरहेको बमबारीका सम्बन्धमा इजरायलको कार्यप्रति असन्तुष्टि व्यक्त गरेका छन् । युरोपेली देशका नेताहरुले नागरिकलाई बचाउनु पर्ने बताएका छन् ।
हतारमा बोलाइएको कायरो शिखर सम्मेलनमा जोर्डन, फ्रान्स, जर्मनी, रुस, चीन, बेलायत, अमेरिका, कतार र दक्षिणी अफ्रिकाका प्रतिनिधि सहभागी थिए । यसबाहेक संयुक्त राष्ट्र संघ र युरोपेली संघका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । आयोजक इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीले गाजाबाट २.३ मिलियन प्यालेस्टाइनीहरूलाई सिनाई प्रायद्वीपमा पठाउने बारे कुनै पनि वार्ता अस्वीकार गरेका थिए ।
जोर्डनका राजा अब्दुल्लाह द्वितीयले गाजामा इजरायलको घेराबन्दी र बमबारीलाई युद्ध अपराधको रूपमा वर्णन गरेका छन् । इजरायलको आक्रमणलाई लिएर यस क्षेत्रमा आक्रोश बढ्दै गएको अरब देशका प्रतिनिधिहरूको भाषणबाट स्पष्ट भएको थियो ।
यसैबीच, इजरायली सेनाले गाजा पट्टीमा बमबारी तिब्र पार्ने घोषणा गरेको छ । इजरायली मिडियाका अनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा भएको हवाई हमलाबारे छलफल गर्न शनिबार राति आफ्नो मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । इजरायली सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले युद्धको अर्को चरणका लागि तयारी गरेका र शनिबारदेखि हवाई आक्रमण बढाउने योजना बनाएको बताए ।
‘हामी युद्धको अर्को चरणमा हाम्रा सेनाहरूलाई खतराहरू कम गर्न हमलाहरू तीव्र पार्नेछौं,’ सैन्य प्रवक्ताले गाजा शहरका बासिन्दाहरूलाई सुरक्षाको लागि दक्षिणी गाजामा सर्ने चेतावनी दोहोर्याउँदै भने, आजबाट आक्रमण बढाउने छौं ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले गाजा युद्धको सुरुवातदेखि ५५० असफल रकेट प्रक्षेपण र मिस फायरहरू पत्ता लगाएको दावी गरेको छ । आइडीएफले हमासले गाजा पट्टीका बासिन्दाहरूलाई मानव ढालको रूपमा प्रयोग गरिरहेको आरोप लगाएको छ । आइडीएफले द्वन्द्व सुरु भएदेखि गाजा पट्टीबाट प्रहार गरिएको लगभग ५५० रकेटहरू असफल भएको पत्ता लगाएको छ । इजरायली सेनाले गाजाबाट प्रक्षेपण गरिएको रकेटको फुटेज पनि जारी गरेको छ, जसमा गाजा पट्टीमा धेरै रकेटहरू विस्फोट भएको देख्न सकिन्छ ।
उत्तरी गाजाको अल-अहली अरब अस्पतालमा मंगलबार राति भएको विस्फोटमा सयौंको ज्यान गएको छ । इजरायलले अस्पतालमा विष्फोट हमासले प्रहार गरेको रकेटबाट भएको दाबी गरेको थियो । त्यही बेला हमासले इजरायलले अस्पतालमा बम विष्फोट गरेको आरोप लगाएको थियो ।