देश

इजरायलमा मृत्यु भएका ४ जनाको शव पठाइयो धनगढी

काठमाडौं । इजरायलमा प्यालेस्टिनी लडाकू हमास समुहले गरेको आक्रमणमा परी मृत्यु भएका चार जनाको शव आइतबार काठमाडौं ल्याएर धनगढी लगिएको छ । धनगढी विमानस्थल लगिएको नेपाली सेनाका अनुसार नेपाली सेनाको स्काई ट्रकमार्फत चार जनाको शव धनगढी लगिएको हो ।

दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव नेपाल आज बिहान काठमाडौँ ल्याइएको थियो । काठमाडौं ल्याइएका चारवटै शवलाई अपराह्न नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पठाइएको स्रोतले जनाएको छ ।

शवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको नेपाली सेनाको गणमा श्रद्धाञ्जली अर्पण गरिएको थियो । परराष्ट्रमन्त्री एनपी साउद, नेपालका लागि इजरायली राजदूत लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जली अर्पण कार्यक्रमपछि राजदूत हनान गोडरले मृत्यु भएका नेपालीहरुलाई आफूहरुले आफ्नै परिवारको सदस्य ठानेको भन्दै शोक व्यक्त गरेका थिए । इजरायलस्थित नेपाली राजदूतावासका अनुसार अन्य ६ जना नेपालीको शव भने पहिचान गर्ने र पठाउने प्रक्रिया पूरा गर्न केही दिन लाग्ने भएको छ ।

कृषि विषय पढ्दै कमाउँदै गर्न इजरायलमा पुगेका नेपाली विद्यार्थीहरु गत असोज २० गते हमासले गरेको आक्रमणमा परेका थिए । आक्रमणमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भए पनि वेपत्ता परेका एक जना विपिन जोशीको अझै ठेगान लाग्न सकेको छैन् । केही दिनअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई नेपाल ल्याएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट