
काठमाडौं । सार्वजनिकरूपमा दुई महिनादेखि नदेखिएका चिनियाँ रक्षामन्त्री जनरल लि साङ्फुलाई बर्खास्त गरिएको छ ।
उनलाई के कारणले बर्खास्त गरिएको हो भन्नेबारे केही खुलाइएको छैन । दुई महिनादेखि सार्वजनिक कार्यक्रममा नदेखिएका लिको बर्खास्तीको समाचार चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले प्रकाशन तथा प्रसारण गरेका थिए ।
गत जुलाई महिनामा पनि तत्कालीन विदेशमन्त्री छिङ काङ बर्खास्तीमा परेका थिए । बर्खास्तीमा परेका दुवै जनाको स्टेट काउन्सिलको सदस्यता पनि खारेज गरिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार लिमाथि भ्रस्टाचारको अभियोगमा अनुसन्धान भइरहेको थियो । उनी गत अगस्ट २९ तारिकदेखि सार्वजनिक रुपमा देखिएका थिएनन् ।