
काठमाडौं । धनुषा प्रहरीले साथीको हत्यामा संलग्न रहेको भन्दै दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा औरही गाउँपालिका वडा नम्बर ६ चक्कर टोल हाल जनकपुरधाम–२४ बसहियाका पवन सहनी र जनकपुरधाम–२४ बसहिया मुसहरी टोलका हरिचन मण्डल रहेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ सोनापाडाका रुपेश महरा चमारको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले उनलाई पक्राउ गरेको हो । गत कातिक १० गते इस्कन मन्दिर नजिक धान खेतमा उनको फेला परेको थियो । हत्यामा उनका साथी सहनी र मण्डलको संलग्नता रहेको प्रहरीले निष्कर्ष निकालेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार जटहीस्थित नेपाल भारत सीमा पारीबाट प्रतिवन्धित लागूऔषध सेवन गरी आएका तीन जनाबीच मोबाइलको विषयलाई लिएर विवाद भएपछि हरिचनले रुपेशको टाउकोमा पछाडीबाट भाटाले प्रहार गरेपछि मृत्यु उनको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको क्रममा मृतकले प्रयोग गर्ने साइकल, मोबाइल सेट, घटनामा संलग्न रहेका हरिचनले हत्या गर्ने समयमा प्रयोग गरेको टिसर्ट, बाँसको भाटा, पवन सहनीको मोबाइल समेत बरामद गरेको जनाएको छ । पक्राउ परेका दुवै जनाबिरुद्ध कर्तव्य ज्यान मुद्दा लगाई थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ ।