काठमाडौँ । २०३४ को फिफा विश्वकप आयोजना साउदी अरेबियाले पाउने निश्चित जस्तै भएको छ ।
फिफाले एशिया र ओशियान क्षेत्रका देशहरुलाई २०३४ को विश्वकप आयोजना गर्ने प्रस्ताव पेश गर्न आव्हान गरेको केहि मिनेटमा नै साउदी अरेबिया र अस्ट्रेलियाले आफ्नो दाबेदारी पेश गरेकोमा अब अस्ट्रेलिया पछि हटेपछि साउदी अरेबिया एक मात्र दाबेदार बनेको हो । अस्ट्रेलियाको फुटबल फेडेरेसनले एक विज्ञप्ति जारी गर्दै आफु २०३४ को फिफा विश्वकप आयोजनाको दाबेदारीबाट पछि हटेको जानकारी दिएको हो ।
फिफाले २०३४ को विश्वकप आयोजनाको औपचारिक इच्छा अक्टोबर ३१ भित्र पेश गर्न र आयोजनाको औपचारिक प्रस्ताव नोभेम्बर ३०, २०२३ सम्म फिफामा टेबल गर्न समय दिएको छ । फिफाले २०३४ को विश्वकप आयोजनाको प्रस्तावमाथि २०२४ को अन्त्य तिर निर्णय लिने बताइएको छ ।
अब साउदी अरेबिया मात्र आयोजनाका लागि इच्छुक भएपछि २०३४ को विश्वकप साउदीमा हुने निश्चित जस्तै भएको छ ।
पछिल्लो बर्षदेखि साउदी अरेबियाले आफ्नो घरेलु लिगमा ठुलो लगानी गरेको छ । अहिले विश्वका उत्कृष्ट खेलाडीहरु साउदी लिग खेलिरहेका छन् । जसमा क्रिस्टियानो रोनाल्डो, करिम बेन्जमासहित दर्जनौं खेलाडी रहेका छन् । भने थप खेलाडी आउने क्रममा रहेका छन् ।
फिफाले २०३० को विश्वकप मोरक्को, स्पेन र पोर्चुगलमा गर्ने यस अघि घोषणा गरिसकेको छ । २०३० विश्वकपको शुरुका तीन खेल भने विश्वकप आयोजना भएको शताब्दी बर्ष पुगेको अवसरमा उरुग्वे, अर्जेन्टिना र पराग्वेमा आयोजना हुने छन् ।
अर्जेन्टिनाले जितेको २०२३ को विश्वकप कतारमा सफलताका साथ आयोजना गरिएको थियो । अब अर्को विश्वकप फुटबल २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गर्नेछन् । यस विश्वकपमा ४८ देश सहभागी हुदै छन् ।