खेलकुद

सेमिफाइनलको दौडबाट बाहिरियो बंगलादेश

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकपमा बंगलादेश सेमिफाइनलको दौडबाट बाहिरिएको छ ।

गएराती पाकिस्तानविरुद्धको खेलमा हार बेहोरेसँगै बंगलादेशको सेमिफाइनलको सम्भावना सकिएको हो । यस विश्वकपमा खेलेका ७ खेल मध्ये बंगलादेशले ६ खेलमा हार बेहोरेको छ र एक खेल मात्र जितेको छ । अब बंगलादेशले श्रीलंका र अस्ट्रेलियासँग खेल्न बाँकी रहेको छ ।

यस विश्वकपमा बंगलादेशले अफगानिस्तानलाई पराजित गरेको थियो भने त्यस पछि खेलेका ६ खेलमा लगातार हार बेहोरेको छ । बंगालदेश इङल्याण्ड, न्यूजील्याण्ड, भारत, दक्षिण अफ्रिका, नेदरल्याण्डस र पाकिस्तानसँग हारेको थियो । अहिले बंगालदेशको ७ खेलमा २ अंक छ र अंकतालिकामा नवौं स्थानमा रहेको छ ।

बंगलादेशको एकदिवसीय क्रिकेट विश्वकपमा अहिलेसम्मको उत्कृष्ट प्रदर्शन २००७ र २०१५ मा रहेको थियो । वेस्टइन्डिजमा २००७ मा भएको विश्वकपमा बंगलादेश सुपर ८ मा पुगेको थियो । यस विश्वकपमा बंगलादेशले भारतलाई पराजित गरेर समुह चरणबाटै घर फर्काइदिएको थियो । तर सुपर ८ मा खेलेका ७ खेल मध्ये केवल एक खेल जितेर सातौं स्थानमा रहेको थियो ।

त्यस्तै अस्ट्रेलियामा भएको २०१५ को विश्वकपमा बंगलादेश क्वाटरफाइनलसम्म पुगेको थियो । यस विश्वकपमा बंगलादेशले ६ मध्ये ३ खेल जितेको थियो भने एक खेल रद्ध हुदा एक अंक पाएको थियो । क्वाटरफाइनलमा भारतसँग पराजित भएको बंगलादेश त्यसयता भने समुह चरणबाट अगाडी बढ्न सकेको छैन ।

बंगलादेशले अन्तर्राष्ट्रिय क्रिकेटमा जसरी शुरुवात गरेको थियो, त्यस अनुसारको सफलता भने हासिल गर्ने सकेको देखिदैन । बंगलादेश क्रिकेटका गोल्डेन जेनेरेसन मानिने शकिब अल हसन, मह्मुदुल्लाह र मुशफिकुर रहमान आफ्नो अन्तिम विश्वकप खेलिरहेका छन् । उमेरले पनि ३६ बर्ष नाघेका यी खेलाडीपछि अब आउने युवा खेलाडीले बंगलादेश क्रिकेटलाई अगाडी बढाउने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *