काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाको फागुनमा रिक्त हुने १९ पदका लागि माघ १० गते निर्वाचन गर्ने तयारी गरेको छ ।
आज (बुधबार) बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ १० ११ र १२ गते निर्वाचन गर्ने तयारी थालेको बताएका हुन् ।
राष्ट्रिय सभा सदस्यहरुको पद रिक्त हुनु एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय सभामा फागुन २० गते रिक्त हुने १९ पदका लागि माघ १०, ११ वा १२ मा निर्वाचन गर्ने गरी तयारी अगाडि बढाइएको उनले बताए।
निर्वाचनको मितिबारे सरकारसँग परामर्श भइरहेको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए । निर्वाचन आयोगसँगको परामर्शमा मन्त्रिपरिषद बैठकले अन्तिम निर्णय गर्दछ ।