खेलकुद

दक्षिण अफ्रिकाविरुद्ध न्यूजील्याण्डले टस जित्यो

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच खेल हुदैछ ।

पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसियसनको क्रिकेट मैदानमा हुने यस खेलमा न्यूजील्याण्डले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । न्यूजील्याण्डका कप्तान टम लाथमले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै दक्षिण अफ्रिकाले पहिला ब्याटिंग गर्ने भएको छ ।

जारी क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकाले खेलेका ६ खेलमा ५ जित हासिल गरेको छ भने एक हारसहित १० अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको छ । त्यस्तै न्युजील्याण्डले ६ खेलमा ४ जित र २ हारसहित ८ अंक हासिल गर्दै तेस्रो स्थानमा रहेको छ ।

न्यूजील्याण्ड यस विश्वकपमा भारत र अस्ट्रेलियासँग पराजित भएको छ त्यस्तै दक्षिण अफ्रिका नेदरल्याण्डससँग पराजित भएको थियो ।

दक्षिण अफ्रिका र न्यूजील्याण्ड यस विश्वकपमा सेमिफाइनलका प्रमुख दाबेदार देश हुन् । यस खेलको जितले दुवैलाई सेमिफाइनलको नजिक पुर्याउने छ ।

दक्षिण अफ्रिका र न्यूजील्याण्डबीच अहिलेसम्म ७१ एकदिवसीय खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले ४१ खेल जितेको छ भने न्यूजील्याण्डले २५ खेल जितेको छ । त्यस्तै ५ खेलको कुनै नतिजा आएको छैन ।

आजको खेलमा दुवैले आफ्नो टिममा एक एक परिवर्तन गरेका छन् । दक्षिण अफ्रिकाको टिममा कागीसो राबडालाई शामसीको ठाउमा खेलाइएको छ भने न्यूजील्याण्डले लुकी फर्गुसनको ठाउमा टिम साउथीलाई खेलाएको छ ।

दक्षिण अफ्रिकाको प्लेइङ ११ : टेम्बा बाभुमा (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), हेनरिक क्लासेन, रस्सी भान डेर दुस्सेन, एडेन मार्कराम, डेभिड मिलर, लुंगी एनगिडी, कागिसो रबाडा, केशब महाराज, गेराल्ड कोएत्जी र मार्को जेन्सेन ।

न्यूजील्याण्डको प्लेइङ ११: टम लाथम (कप्तान), डेभोन कोनवे, विल योङ, रचिन रविन्द्र, डार्यल मिचेल, ग्लेन फिलिप, मार्क चापम्यान, टिम साउथी, मिचेल सान्टनर, माट हेनरी र ट्रेन्ट बोल्ट ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *