देश

सङ्कटमा पुर्ख्यौली पेशा

रामेछाप । कात्तिक र चैत जोगीहरुको फेरी लगाउने महिना हो । यही दुई महिना फेरी लगाएर उनीहरु सिदा र भेटी सङ्कलन गर्नेगर्छन् । दुई महिनाको काम गराइले आफू र परिवार पाल्नुपर्ने भए पनि पछिल्लो समय पेसा सङ्कटमा पर्दै गएपछि उनीहरु चिन्तित बनेका छन् ।

युवापुस्तामा यो पेसाप्रति आकर्षण नभएपछि पेसा नै सङ्कटमा पर्ने सम्भावना बढ्दै गएको जोगीहरुको भनाइ छ । आफूहरु बुढो हुँदै जानु र युवापुस्ता (छोरा, नाति) को आकर्षण नहुँदा पेसा नै सङ्कटमा पर्न लागेको दोलखा, मेलुङका रुद्रध्वज जोगीले बताए ।

उनले भने–’स्थानीय सरकारले कला र संस्कृति जोगाउने नाममा विभिन्न जातजातिलाई सिपअनुसारको बाजागाजा, आरन, बाध्यबादन सामग्री बाँडिरहेको सुनिन्छ तर हाम्रो समुदायलाई केही प्राप्त हुँदैन । अनि कसरी आफ्नो संस्कृति जोगाउनु, कसरी जीविकोपार्जन गर्नु ? स्थानीय सरकारले हामीलाई पनि राति घर–घर गइ फेरी लगाउनका लागि आवश्यक पर्ने लाइट, लौरो र बजाउने सामग्री (बराठको सिङ) उपलब्ध गराउन सके हामी हाम्रो पेसा संरक्षण गर्न र आफ्नो जीविकोपार्जन गर्न सक्ने थियौँ ।’

परम्परागत पेसा जोगाउनकै लागि भए पनि आफू बुबासँगै घरघर हिँडे पनि यो माग्ने पेसा आफूलाई झन्झट लागेको दोलखा मेलुङका युवा दीपक जोगीले बताए । यो पेसा संरक्षणका लागि राज्यबाट पनि केही सहयोग प्राप्त भए पेसालाई जोगाउन सकिने उनको भनाइ छ ।

रामेछाप नगरपालिका हिमगङ्गाका मीनबहादुर जोगीले भने, ‘हाम्रा बुबा हजुरबुबाले यही पेसा गरे र हामीले पनि गरिरहेका छौं तर अब पढेलेखेका छोरा सहरमा जागिर खान जाने भएकाले उनीहरुले यो पेसा गर्ने अवस्था छैन त्यसैले अब हाम्रो पेसा लोप हुने अवस्था छ । न हामीलाई राज्यबाट सहयोग छ न त अरुबाट नै । फेरी लगाएको दिन बिहानभरी घर–घर घुम्दा झर्को नमानी सिदा दक्षिणा दिन्छन् ।’ तर हाम्रो शेष पछि भने हामीले लगाउने गरेको फेरी लोप होलाजस्तो छ ।

कात्तिक र चैत्र महिनामा रातको १२ बजे पछिदेखि घरघरमा गइ विभिन्न मत्रोच्चारण गरेर बराठको सिङ बजाएर फेरी लगाउने र सिदा सङ्कलन गर्नेगर्छन् । कसैकसैले राति घर वा कोठा भित्रै बोलाएर पनि फेरी लगाउन लगाउने गर्दछन् । उनीहरु रातभर फेरी लगाउने र बिहानभर जय गोरखनाथ भन्दै राति फेरी लगाएको घरघरमा पुगेर सिदा सङ्कलन गर्ने गर्दछन् ।

सिदाका सबै सामानहरु सङ्कलन गरेर थैलो हाल्छन् र एउटा टोल वा गाउँ सकिएपछि प्राप्त भएको सिदाका सामानहरु घर लैजाने गर्दछन् ।

रामेछाप नगरपालिका र लिखु तामाकोशी गाउँपालिकामा गरी करिब एक सयको सङ्ख्यामा उनीहरुको बसोबास रहेको छ । दोलखाको मेलुङ गाउँपालिकामा ५० जनाको सङ्ख्यामा जोगीहरुको बासोबास रहेको बताइएको छ । मन्थली र आसपासका क्षेत्रहरुमा भने पहिलेदेखि नै दोलखाको मेलुङका जोगीहरुले फेरी लगाउँदै आइरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *