
काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल ‘रिगल’ लाई दिइएको आममाफी बदर गरेपछि निवेदक भारती शेर्पाले अनसन तोडेकी छिन्।
न्याय माग्दै महिनौंदेखि काठमाडौं बसिरहेकी उनले मुद्दा जितेकी छिन्। भारती बिहीबार फैसला सुनेसँगै अदालतमै बेहोस भएकी थिइन्। उनलाई वीर अस्पताल लगिएको थियो। उनले वीर अस्पतालमै जुस पिएर अनसन तोडेकी हुन्।
सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)को कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णय बदर गर्ने आदेश दिएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा बिहीबार निर्णय सुनाएको हो।
संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।