
काठमाडौं । कोशी प्रदेशमा सहमतिको सरकार बन्ने भएको छ । कोशी प्रदेश सरकार विस्तारमा राजनीति दलहरुबीच बढेको द्वोन्द्व व्यवस्थापन गरेर सबै दललाई सरकारमा समावेश गर्दै माओवादी र एकिकृतसमाजवादीलाई सरकारमा ल्याउने तयारीमा काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्की जुटेका छन् ।
कोशीका मुख्यमन्त्री केदार कार्कीलाई केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरुले दबाब दिन थालेपछि उनले माओवादीलाई पनि सरकारमा समावेश गराउने तयारी गरेका छन् । माओवादी र एकीकृत समाजवादीबाट १/१ जनालाई मन्त्री बनाउने तयारी भएको मन्त्री तथा सरकारका प्रवक्ता शमशेर राईले बताए । उनले आजै नियुक्तिको सम्भावना रहेको जानकारी दिए । दुई जनालाई कोशी प्रदेश सरकारमा नियुक्ती गरेपछि आजै सपथ खुवाउने तयारी समेत भएको स्रोतले जनाएको छ ।
तर नेकपा एमालेले भने असहमति जनाउन थालेको छ ।नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकारबाट बाहिरिने बताएका छन । कोशीमा फेरी पनि सहमतिको सरकार विस्तार गर्ने पहलमा मुख्यमन्त्री कार्की जुटेपछि विगतको झै असमझदारी पैदा हुने आसंका गरिएको छ ।
केदार कार्की गत असोज २८ गते मुख्यमन्त्री नियुक्त भएका थिए । एमालेको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले यसअघि एमाले र नेपाली कांग्रेसका एकएक जनालाई मन्त्री नियुक्त गरेका थिए ।
नेकपा एमालेको समर्थनमा कांग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री भएका कार्कीलाई कार्तिक १ गते केन्द्रीय सत्ता गठबन्धनमा रहेका सबै दलले विश्वासको मत दिएका थिए । विश्वासको मत पाएपछि उनले सरकारमा गठबन्धन दललाई सामेल गर्ने कि एमालेमात्र भन्ने निर्णय गर्न नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन ।