
जाजरकोट । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गए राति (शनिबार) गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा कर्णालीमा ठूलो क्षति भएको छ ।
दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान लगायतका जिल्लाका धेरै घरमा क्षति पुगेको छ । केही ठाउँमा सुख्खा पहिरो गएको छ । रातिको समय भएकाले विवरण संकलन गरी उद्धार र राहतका काम गर्न समस्या भएको सरकारी अधिकारीहरुले बताएका छन् ।
सडक अवरुद्ध हुँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको हो । केही ठाउँमा सुख्दा पहिरो गएको र केही ठाउँमा पुल भासिंएकोले घाइतेको उद्धारमा कठिनाइ भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए ।
उनका अनुसार जाजरकोट–डोल्पा सडकअन्तर्गत रिम्नाको पुल भासिंएको छ । पुल भासिएर सडक अवरुद्ध हुँदा नलगाड र आठविसकोटका बिरामी ल्याउन समस्या भएको छ । रिम्नाकै बाटो भएर भूकम्प प्रभावित क्षेत्रका बिरामिलाई ल्याउनु पर्ने भए पनि पुल भासिंएकोले उद्धारमा कठिनाइ भएको हो ।
रुकुमपश्चिममा पनि केही ठाउँमा सुख्दा पहिरो जाँदा सडक अवरुद्ध भएको स्थानीय तहले जनाएका छन् । सडक खोलेर उद्धारको काम भइरहेको छ ।जाजरकोटमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भएका छन् । क्षतिको विवरण र सूचना संकलन भइरहेको छ । कतिपय स्थानमा टेलिफोन टावरले काम नगर्दा सूचनामै समस्या भइरहेको छ ।
कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री वेदराज सिंहले जाजरकोटमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भएको बताएका छन् । क्षतिको विवरण र सूचना संकलन भइरहेको र कतिपय स्थानमा टेलिफोन टावरले काम नगर्दा सूचनामै समस्या भइरहेको उनको भनाइ छ । मन्त्री सिंहको घर पनि जाजरकोट हो । चिसो मौसममा घर बाहिर निस्केकाहरुलाई रात कटाउन पनि कठिन भएको छ ।