देश

भूकम्पका घाइतेको उपचारका लागि बाँकेका ठूला अस्पताल तयारी अवस्थामा राखियो

बाँके ।गएराति जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी गम्भीर घाइते भएकाहरूको उपचारका लागि बाँकेका ठूला अस्पताल तयारी अवस्थामा राखिएको छ ।

भूकम्पले जाजरकोट र रुकुम पश्चिम ठूलो मानवीय र भौतिक क्षति गरेको छ । बाँकेका भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, नेपालगन्ज नर्सिङ होम लगायतका अस्पतालहरू घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ ।

भूकम्प प्रभावित क्षेत्रबाट गम्भीर घाइतेहरूलाई एम्बुलेन्स अन्य सवारी साधनमार्फत थप उपचारका लागि सुर्खेत र नेपालगन्ज पठाइएको छ । सोही कुरालाई ध्यानमा राखेर गम्भीर घाइतेहरूको उपचारका लागि अस्पताल, विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स लगायतका तयारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी पोखरेल बिहानै भेरी अस्पतालमा पुगेर व्यवस्थापन समिति र अस्पताल प्रशासनसँग घाइतेहरूको उपचारको तयारीको बारेमा जानकारी समेत लिनुभएको थियो।

भेरीमा मात्रै गम्भीर घाइतेहरूको उपचार सम्भव नभए नेपालगन्ज नर्सिङ होम र मेडिकल कलेज कोहलपुरमा समेत उपचार गर्ने व्यवस्था मिलाइएको छ ।

राँझास्थित नेपाली सेनाको अस्पताल, नेपालगन्जको प्रहरी अस्पताल र भेरी अस्पतालमा मात्रै घाइतेहरूको उपचारका लागि १ सय ५ वटा बेडहरू खाली गरिएको छ । बिरामीलाई आवश्यक रगतको व्यवस्था गर्नका लागि सुरक्षाकर्मी रक्तदानको लागि तयारी अवस्था राखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *