
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुममा हिजो भूकम्पमा परेर घाइते भएकाहरूको सरकारले नि: शुल्क उपचार गर्ने बताएका छन् ।
शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै स्वास्थ्य मन्त्री बस्नेतले घाइतेहरूको उपचारका लागि स्वास्थ्यकर्मीहरूको टोली घटनास्थल पठाइसकिएको जानकारी दिँदै आवश्यकता अनुसार थप उपचारका लागि औषधि सहित चिकित्सकको टोली तयारी अवस्थामा राखिएको बताए । मन्त्री बस्नेतले भने, ‘त्यही उपचार गर्नु पर्ने घाइतेहरूको उपचार त्यही गर्छौ ।
त्यहाँ उपचार सम्भव नहुनेलाई हेलिकोप्टरबाट भए पनि सुविधा सम्पन्न अस्पताल ल्याएर उपचार गर्छौ । उपचारमा कुनै कमी हुने छैन । ’ मन्त्री बस्नेतले आफू स्वास्थ्य मन्त्रीभएदेखि नै पैसाको अभावमा कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्दैन भन्दै आइरहेकोले प्राकृतिक विपत्तिका बेला पनि सरकारले उपचारमा कुनै कमी नगर्ने दाबी गरे ।
मन्त्री बस्नेतले जाजरकोट र रुकुममाको अवस्था हेरेर उपचारमा लागि थप के गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयका विज्ञहरुसँग सल्लाह गरेर अगाडि बढ्ने जानकारी दिए । जाजरकोट र पश्चिम रुकुममा हिजो राती आएको भूकम्पमा परेर अहिलेसम्म १२० भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने सयौँ घाइते भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल आजै बिहानै जाजरकोट पुगिसकेका छन् ।