
काठमाडौँ । जाजरकोट भूकम्प पीडितको अवस्था बुझ्न शनिबार बिहानै त्यसतर्फ गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूले चढेर गएको हेलिकोप्टर उतै छाडेर फर्कने भएका छन् ।
गए राति जाजरकोटको गएराति ११ः४७ बजे जाजरकोटको बारिकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएपछि प्रधानमन्त्री प्रचण्ड बिहानै त्यसतर्फ गएका थिए ।
उनी आफूले चढेर गएको हेलिकोप्टर उत्रै छाडेर नियमति विमानमार्फत काठमाडौं फर्कन लागेको उनका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए । ‘आफू चढेर गएको विमान उद्धारका लागि छाडेर नियमित जहाजमा साढे २ बजे उहाँ (प्रधानमन्त्री नेपालगन्ज)बाट काठमाडौं फर्कँदै हुनुहुन्छ,’ उनले भने, ‘सरकारका तर्फबाट गर्नुपर्ने आवश्यक तयारी गर्नका लागि उहाँ काठमाडौं फर्कन लाग्नुभएको हो ।’
उनी बुद्ध एयरमार्फत काठमाडौं फर्कन लागेका हुन् । उनका अनुसार भोलि (आइतबार) बिहान ८ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । सो बैठकबाट भूकम्प पीडितका लागि राहत घोषणा हुने शर्माले बताए ।