
काठमाडौँ । गएराति गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको सङ्ख्या १४३ पुगेको छ ।
नेपाल प्रहरीले दिएको अपराहन्न साढे ३ बजेसम्मको अपडेट अनुसार भूकम्पबाट जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ भने रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ । रुकुम पश्चिममा १९ पुरुष र १९ महिला गरी ३८ जनाको मृत्यु भएको छ । त्यसैगरी भूकम्पबाट जाजरकोटमा ८१, रुकुम पश्चिममा ८५, जुम्ला र दैलेखमा तीन-तीन तथा सल्यानमा एक जना घाइते भएका छन् । उनीहरुको जाजरकोट, रुकुम पश्चिम, सुर्खेत र बाँकेका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ ।
अहिले राहत र उद्धारको काम जारी रहेको नेपाल प्रहरीले जनाएको छ । अहिलेसम्म जाजरकोट र रुकुमपश्चिममा कुल ८५९ जना सुरक्षकर्मी र स्वास्थ्यकर्मी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
जाजरकोट र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भूकम्प प्रभावित क्षेत्रमा आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पूर्वगृहमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मालगायत पुगेर मृतकका परिवारजन तथा घाइतेलाई भेटेका छन् ।
गए राति ११: ४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६.४ ४ रेक्टरस्केलको भुकम्प गएको थियो ।