
काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पमा ज्यान गुमाएका जाजरकोट नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहलगायतकालाई आज श्रद्धाञ्जली अर्पण गरेका छन् ।
आज दिउँसो उपप्रधानमन्त्री खड्काले जाजरकोटको त्रिवेणी नदीमा उपप्रमुख सिंहलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । सो अवसरमा उपप्रधानमन्त्री खड्कासहित कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मालगायतको उपस्थिति थियो ।
उपप्रधानमन्त्री खड्काले भूकम्पपीडितको उपचार, राहत र पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । उनले राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरेर एकैदिनमा घाइतेलाई उद्धार गर्न सरकार सफल भएको बताउँदै आजदेखि राहत वितरण सुरू गरिने जानकारी दिए ।
“दुई दिनभित्र सबै भूकम्पपीडित नागरिकसम्म पुग्नेगरी राहत सामग्री पठाएका छौँ, थप केही आउनेक्रम जारी छ”, उनले भने , “जसरी भूकम्पका घाइतेको उद्धार गरेका छौँ, सोही गतिमा राहत पनि वितरण गर्छौं ।” उपप्रधानमन्त्री खड्काले राहतलगत्तै पुनःनिर्माणको काममा सुरु हुने बताए । उनले घाइतेहरूको उपचार सुर्खेत, नेपालगञ्ज र काठमाडौँमा भइरहेको बताउँदै उपचारमा कुनै किसिमको कमी हुन नदिने प्रतिबद्धता जनाए ।
गत शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण नलगाड नगरपालिकामा उपप्रमुख सिंहसहित ५५ जनाको ज्यान गएको थियो भने जाजरकोट र रुकुम पश्चिमका विभिन्न क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको थियो ।
नलगाड नगरपालिका– ४ का अध्यक्ष बद्रीबहादुर पन्तले उपप्रमुख सिंहको निधनबाट पालिकालाई ठूलो क्षति पुगेको बताए । “पालिकाको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्ति गुमाउँदा ठूलो पीडा भएको छ”, उनले भने ।
उपप्रमुख सिंहको निधन सदरमुकाम खलङ्गामा भए पनि श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर नलगाड ल्याइएको थियो । अध्यक्ष पन्तका अनुसार भूकम्पमा परी मृत्यु भएका पालिकाका ५५ जनाकै दाहसंस्कार भइसकेको छ ।