
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थमन्त्री मोहनबहादुर बस्नेतसँग भूकम्पबाट भएका घाइतेहरूको शीघ्र तथा प्रभावकारी उपचार सेवामा कुनै कसर बाँकी नराख्न आग्रह गरेका छन् ।
बुधबार राष्ट्रपति भवन शितलनीवासमा मन्त्री बस्नेतसँग उनले राजधानीलगायत देशका विभिन्न अस्पतालमा उपचाररत भूकम्पप्रभावितहरूको अवस्था, उपचार सेवा र सुविधालगायतका विषयमा जानकारी लिएपछि सो आग्रह गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार राष्ट्रपति पौडेलले उपचार प्रक्रियालाई सहज, सरल प्रभावकारी र गुणस्तरीय बनाउन तथा यसमा सरकारका तर्फबाट कुनै पनि कसर बाँकी नराख्न आग्रह गरेका थिए । सो अवसरमा उनले अस्पतालहरूको स्तरवृद्वि, आधुनिक उपकरण, दक्ष चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्थापन र गुणस्तरीय सेवा प्रवाहबारे पनि चासो राखेका थिए ।
जाडोयामसँगै देखापर्ने विभिन्न रोगको उपचारका लागि पनि बेलैमा आवश्यक तयारी गर्न पनि उनले आग्रह गरे ।