
काठमाडौं । युट्युबर मनोज मानव पक्राउ परेका छन् । उनलाई प्रहरीले बुधबार साँझ काठमाडौँको कीर्तिपुरबाट पक्राउ गरेको हो। सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले मनोजलाई पक्राउ गरेको जनाइएको छ ।
स्टार अनलाइन टिभी नामक युट्युब च्यानलका सञ्चालक मनोजलाई बिहीबार अदालतमा पेस गर्ने प्रहरीको तयारी छ। उनी विभिन्न लफडामा पर्दै आएका छन् । यतिबेला उनी तारा बराल नाम गरेकी अभियन्तासँग उनको अफडा चलिरहेको छ । यस्तै एमाले नेता महेश बस्नेतले पनि उनीमाथि गम्भीर आरोप लगाएका छन् । प्रहरीले दुवैको उजुरीमा पक्राउ गरेको हुन सक्ने बुझिएको छ ।
एमाले युवा नेता बस्नेतले प्रहरीको साइबर ब्युरोले पक्राउ गरेका युट्युवर मनोज मानव आपराधिक गिरोहका मुख्य योजनाकार भएको बताएका छन् । मनोज पक्राउपछि बस्नेतले सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै मनोज बार्गेनिङ गर्ने गिरोहको मुख्य योजनाकार रहेको उल्लेख गरेका छन् । केही दिनअघि बस्नेतलाई जोडेर एउटा आपत्तिजनक भिडिओ सार्वजनिक भएको थियो ।
बस्नेतले अरूको फोटो भिडिओ एडिट गरेर चरित्र हत्या गर्नेलाई अधिकतम कारबाही हुनुपर्ने माग गरेका छन् । ब्युरोले भने कसका उजुरीका आधारमा मनोजलाई पक्राउ गरिएको भन्नेबारे केही उल्लेख गरेको छैन । विभिन्न व्यक्तिको चरित्र हत्या गरेको आरोपमा मनोजलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ ।